अठार वर्ष वैदेशिक रोजगारीमा रहेर पसिना बगाउनुभएका मोरङको उर्लाबारी–९ का रमेश सुन्दास मेहनत गरे देशमै आफ्नै देशमा आम्दानी गर्न सकिन्छ भन्ने उद्देश्य बोकेर करिब पाँच वर्ष अघि नेपाल फर्किनुभयो । उहाँले आयआर्जन हुने विभिन्न उपाय खोजी गर्ने क्रममा पारिवारिक सहमतिमा बङ्गुरपालन व्यवसाय थाल्नुभयो ।
सुरुआतमा सुन्दासले वैदेशिक रोजगारीमा आर्जन गरेको धनबाट व्यवसाय स्थापना गर्ने सोच बनाउनुभयो । तर त्यो पैसाले व्यवसाय सञ्चालन गर्न मुस्किल पर्ने देखेपछि उहाँले बैंकबाट ऋण लिएर व्यवसायलाई विस्तार गर्ने सोच बनाउनुभयो । रु एक करोड ऋण लिएर सुन्दासले ४० बङ्गुरपालन थाल्नुभयो ।
मासु उत्पादनभन्दा पनि पाठापाठी उत्पादन गर्ने र बिक्री गर्ने सोचका साथ कृषि पेसामा होमिनुभएका सुन्दासले करिब तीन वर्ष राम्रै व्यापार गर्नुभयो । तर व्यवसायमा लगानी गरेको ऋण चुक्ता गर्न सक्नुभएन । यसैबीचमा कोरोना सङ्क्रमण फैलियो । व्यापार–व्यवसाय चौपट बन्न पुग्यो । उहाँ कोरोना महामारी अघि उत्पादित पाठापाठी भारतको सिक्किम र भुटानसम्म निर्यात गर्दै आउनुभएको थियो । “कोरोनापछि बङ्गुरका पाठापाठी निकासीमा रोकलगाएपछि व्यवसाय चौपट भयो”, उहाँले पीडा सुनाउनुभयो ।
सुन्दास जस्तै बङ्गुरपालन गर्दै आएका अन्य कृषक पनि मर्कामा पर्नुभयो । यतिबेला फार्ममा उत्पादन भएका पाठापाठीलाई पेटभरि आहारा खुवाउन पनि मुस्किल भएको उहाँको दुखेसो छ । “महिनैपिच्छे बैंकबाट साँवा–ब्याज किस्ता, भन्दै आउने टेलिफोनको घण्टीले थप पीडित बनाएको छ”, उहाँ भन्नुुहुन्छ ।रासस