स्वच्छ र सफा भएकै कारण पोखरा धेरै पर्यटकको रोजाइमा पर्ने गरेको छ । यहाँको स्वच्छ हावापानीको मज्जा लिँदै प्राकृतिक सौन्दर्यतामा रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्लो समय पर्यटकीय नगरी पोखरा वायु प्रदूषणको चपेटामा पर्दै गएको छ ।
एक तथ्याङ्कअनुसार पोखराको वायु प्रदूषण दिनानुदिन बढ्दै गएको छ । स्वच्छ ऊर्जा नेपालले गरेको सर्वेक्षणको तथ्याङ्कअनुसार पोखरामा यसको दर बढिरहेको छ । सो संस्थाले पोखरामा वायु प्रदूषण मापन यन्त्र राखेर अध्ययन थालेको छ ।
संस्थाले पोखरामा राखेको मापन केन्द्रले बुधबार ८ः३० बजेको समयमा हावामा प्रदूषणको सूचक तीन सय ५१ देखाएको स्वच्छ ऊर्जा नेपालका कार्यक्रम संयोजक वर्षा पराजुलीले जानकारी दिनुभयो । पोखरामा दैनिक, मासिक, त्रैमासिक तथ्याङ्कमा वायु प्रदूषण मात्रा बढ्दै गएको उहाँको भनाइ थियो । “हामीले सन् २०२२ देखि नै यो डिभाइस राखेर तथ्याङ्क लिने काम गरेका छौँ”, पराजुलीले भन्नुभयो, “पहिला महेन्द्रपुलमा राखेका थियौँ, त्यहाँ सवारी आवागमन धेरै हुने भएकाले धेरै नै देखाउने भयो, अहिले नयाँबजार क्षेत्रमा राखेका छौँ, यहाँ पनि दिनानुदिन प्रदूषण इन्डेक्स बढ्दै गएको छ ।”
सो यन्त्रको सूचकअनुसार शून्य देखि ५० सम्मलाई राम्रो, ५० देखि एक सयसम्मलाई नराम्रो, एक सयदेखि दुई सयसम्म अस्वस्थकर, दुई सयदेखि तीन सयसम्म अति अस्वस्थकर र तीन सयदेखि माथि खतरनाक मानिने उहाँले जानकारी दिनुभयो । रासस
