शुक्लाफाँटा नगरपालिका– १२ का वासुदेव राना डेढ दशकदेखि सानो झोपडीमा परिवारसहित सामुदायिक वनमा बस्दै आउनु भएको छ । सामुदायिक वनमा बस्नु रहर नभएर उहाँका लागि बाध्यता छ । विसं २०६४ को भदौ अन्तिम साता परेको अविरल वर्षासँगै दोदा नदीमा बाढी आउँदा रानासँगै १९ परिवार विस्थापनमा परेका हुन ।
विस्थापनमा परेका परिवार पुनः स्थापनको पखाईमा सामुदायिक वनमा बस्दै आएका छन् । “बाढी दिउँसोको बेला आउँदा जीउज्यान जोगाउन सक्यौँ, रातिका बेला बाढी आएको भए निकै ठूलो मानवीय क्षति हुन्थ्यो” उहाँले भन्नुभयो, “नदीमा पानीको सतह बढदै गएर बस्तीसम्म पुग्यो, घरभित्र रहेको अन्न, लत्ताकपडा केही झिक्न पाएनौँ, रितो हात ज्यान जोगाउन सुरक्षित स्थानमा गयौंँ ।” “आँखा अगाडिनै घर,खेत सबै केही समयपछि नदीको बाढीले बगाएर लग्यो, त्यो त्रासदी सम्झीदा आँखा रसाएर आउछन् उहाँले भन्नुभयो । डेढबिघा जग्गामा अहिले नदी बगिरहेको रानाले बताउनुभयो ।
उहाँ जस्तै महादेव रानाको दुई बिघा जग्गा अहिले नदीको बगर बनेको छ । “रातिका बेला सपनामा बाढी देख्दा निन्द्रानै पर्दैन उहाँले भन्नुभयो, “जुरुक्क उठछु, पुरानै कुरा स्मरण हुन्छन ।”उहाँ भन्नुहुन्छ “खेती गरेर पूरै परिवारको खर्च धानीन्थ्यो, कसैसँग हात फैलाएर माग्न जानुपर्दैनथ्यो, हाल मजदूरी गरेर जीविका चल्ने गरेको छ ।”घर जग्गा बगेपछि तत्कालका लागि अस्थायी रुपमा सामुदायिक वनले बस्नका लागि बाढी प्रभावित परिवारलाई व्यवस्था मिलएको हो ।
दोदा नदीको बाढीले १९ परिवारको २५ बिघा बढी जग्गा बगाएको पीडितको भनाइ रहेको छ । हाल त्यो जग्गाको केही भागमा नदी बगिरहेको छ,भने केही बालुवाले भरिएको बगर बनेको छ । पुनः स्थापनका लागि बाढी प्रभावित परिवारले सडकदेखि सदनसम्म कुरा नउठाएका होइनन् । अहिलेसम्म सुनवाइ हुनसकेको छैन ।
बाढी प्रभावित परिवारको दुई पुस्ता वन क्षेत्रमै बस्दै बित्न थालेको छ ।“वन क्षेत्रमा बस्ने कसको रहर हुन्छ” घुम्मन रानले भन्नुभयो, “बाध्यताले वन क्षेत्रमा बस्नु परेकोछ, कुन बेला वनमा रहेका सालका रुख झोपडीमा बजारिन्छन् भन्ने चिन्ता छ, चैत वैशाख, जेठ महिनाको हावाहुरी चल्दा झोपडी छाडेर अरु ठाउँमा शरण लिनुपर्ने हुन्छ, वर्षातका बेला झोपडी चुहिँदा बस्नै सकिँदैन ।”
लामखुट्टेको टोकाइबाट जोगिनका लागि धुवाँ गरेर बस्नु परेको उहाँ दुखेसो गर्नु हुन्छ । “कुनै निकायबाट हाल सम्म झुल पाएका छैनौं” उहाँले भन्नु भयो, “कोरोनाको सङ्क्रमण फैलिँदा मजदूरी नपाइएपछि आफन्तसँग मागेर खायाँं, राहत सामग्री कसैले दिएनन् ।”झोपडीभित्र विषालु सर्प र विच्छी बेला बखत देखिने गरेपनि जोखिमसँगै बस्नु परेको उहाँको भनाइ रहेको छ ।
दुर्गम गाउँको क्षेत्र भएकाले खान बस्नकै दुःख रहेको चैत राम राना बताउनुहुन्छ । “पुनः स्थापन गर्ने धेरै अश्वासन पाइसकेका छाँैं” उहाँले भन्नुभयो, “पुनः स्थापन गर्न कोही फर्केर आएका छैनन्, हामीसँगै बाढीबाट विस्थापनमा परेका लालझाडी गाउँपालिकाका बासिन्दालाई स्थानीय तहको पहलमा पुनः स्थापन भए, हामी अझै पनि जंगलमै दिन गन्दै बसेका छौँ ।”
स्थानीय ठाउँमा रोजगारी नपाइदा युवा कोही भारतमा र केही टाढाका बजार क्षेत्रमा मजदूरीका लागि गएपछि झोपडीमा बुढापाका मात्रै बस्दै आएका छन् । बाढी प्रभावित परिवारमा एसइई गरेको कोही पनि छैन । माध्यमिक तहको शिक्षा पढदै गर्दा विद्यालय विचमै छाडेर किशोर अभिभावकसँगै मजदुरमा जाने गरेका छन् । आवास, शिक्षा, रोजगारीबाट बाढी प्रभावित परिवार वञ्चित रहेका छन । स्थानीय तहको पहलमा बाढी प्रभावितका झोपडीमा विद्युत सेवा भने पुगेको छ । १९ परिवारका लागि दुई वटा मात्रै शौचालय रहेका छन् । खानेपानीका लागि एक वट नल्का रहेको छ ।
बाढी प्रभावित परिवारका भुरी राना जीउ जोगाउन सुरक्षित स्थानमा आवास, बालबालिका पढनका लागि निःशुल्क शिक्षा र रोजगारी दिनुपर्ने बताउनुहुन्छ । वडा अध्यक्ष नवलसिंह राना बाढी प्रभावित परिवार डेढ–दशकदेखि पुनःस्थापनको पखाइमा वन क्षेत्रमा बस्दै आएको बताउनुहुन्छ ।
“बाढी प्रभावित परिवारको पिरमर्का बुझेका छौँ” उहाँले भन्नुभयो, “एक्लै स्थानीय तहले चाहेर हुदैन, सङ्घ र प्रदेश सरकाले यसबारे गम्भीरतापूर्वक सोच्नुपर्ने हुन्छ ।”
नगर सभामा यसबारे कुरा उठाएको उहाँले बताउनुभयो । “पहिलेनै १९ परिवार बाढीबाट विस्थापनमा परेका थिए” उहाँले भन्नुभयो, “गएको भदौ अन्तिम साता थप १० बढी परिवारको घर–जग्गा बगाउँदा बाढी प्रभावितको सङ्ख्या थपिएको छ ।”
दोदा र वनहरा नदी नियन्त्रणका लागि गुरुयोजना बनाइ कार्य नगरे बर्सेनि बाढी प्रभावितको सङ्ख्या थपिँदै जाने उहाँ बताउनुहुन्छ । यसका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराई सकिएको उहाँले बताउनुभयो ।रासस
