नेपाली चियाको गुणस्तर परीक्षण गर्ने प्रयोगशाला स्वदेशमा नहुँदा चिया उत्पादक व्यवसायी समस्यामा परेका छन् । नेपालको चिया गुणस्तर परीक्षण नगरी भारतले आयातको अनुमति दिँदैन । तर स्वदेशमा प्रयोगशाला नहुँदा व्यवसायीलाई भारतकै पश्चिम बङ्गालको कोलकातामा परीक्षण गर्नुपर्ने बाध्यता छ ।

उद्योगीले तयारी चिया बोकेका कन्टेनर हप्ताँै काँकरभिठ्ठा भन्सारमा राखेर कोलकातामा परीक्षण गर्न लैजान्छन् । परीक्षणको ‘रिपोर्ट’ आएपछि मात्र भारतलगायत तेस्रो देशमा चिया निर्यात हुने गरेको नेपाल चिया उत्पादक सङ्घका अध्यक्ष सुरेश मित्तलले बताउनुभयो ।

उहाँले मुलुकमै चिया निर्यातबाट वार्षिक तीन अर्ब बढी रकम भित्रिरहँदा पनि सरकारको स्वदेशमै प्रयोगशाला स्थापनाको पहल नगरेको गुनासो गर्नुभयो । “चिया उद्योगप्रति सरकारको व्यवहार विभेदपूर्ण छ,” उहाँले भन्नुभयो–“भारतले गुणस्तर परीक्षण नगरी एक प्याकेट पनि चिया लैजान दिँदैन, त्यति टाढा कोलकाता पु¥याएर गुणस्तर परीक्षण गर्दा समय र लागत बढ्छ ।” सरकारले चाहने हो भने प्रयोगशाला राख्नु कुनै ठूलो समस्या नभएको उहाँको भनाइ छ ।

नेपाली चिया उत्पादकहरुले गुणस्तर परीक्षण गर्ने मान्यताप्राप्त ल्याब खोल्न सरकारसँग पटक–पटक माग गरेका छन् । मुलुकमित्र चियाको गुणस्तर परीक्षण गर्ने ल्याब नहुँदा भारतमा जस्तो गुणस्तर मापन हुन्छ, त्यसकै आधारमा मूल्य पाउने गरेको मित्तलले गुनासो गर्नुभयो । मुलुकको आर्थिक सूचकाङ्कमा चिया उद्योग सफल उद्योगको रुपमा चित्रित भए तापनि सरकारको नीति र दृष्टिकोण भने सकारात्मक नभएको साना किसान चिया सहकारी सङ्घका अध्यक्ष हर्क तामाङको आरोप छ ।रासस