झापामा दश मेगावाट विद्युत् उत्पादन गर्ने मुलुककै ठूलो सौर्य ऊर्जा परियोजनाको निर्माण कार्य तीव्ररूपमा भइरहेको छ । सो परियोजना झापा इनर्जीको नामले परिचित छ ।
शिवसताक्षी नगरपालिका–४ सालमारामा रु ८० करोडको लगानीमा परियोजनाको निर्माण सुरु भएको हो । एककाइस बिघा जमिनमा फैलिने परियोजनाको आगामी विसं २०८० असार मसान्तमा निर्माण सम्पन्न गरिने गरी काम भइरहेको झापा इनर्जीका प्रबन्ध सञ्चालक सुवास भट्टराईले बताउनुभयो ।
करिब ७५ प्रतिशत माछापुच्छ्रे बैंक र सिभिल बंैकको वित्तीय साझेदारी रहेको परियोजनामा २५ प्रतिशत साधारण शेयरबाट रकम जुटाइएको उहाँले जानकारी दिनुभयो । “आगामी असारभित्र पूरा गर्ने लक्ष्यसहित धमाधम निर्माणको कामलाई तीव्रता दिइरहेका छौँ”, उहाँले भन्नुभयो, “परियोजनालाई चाहिने आवश्यक सामग्री निर्माणाधीन स्थलमा आइरहेको छ ।”
परियोजनाको काम पूरा भएलगत्तै विद्युत् उत्पादन सुरु हुने उहाँले बताउनुभयो । उत्पादित विद्युत् नेपाल विद्युत् प्राधिकरणले किन्ने सम्झौता भइसकेको उहाँको भनाइ छ ।
पूर्व पश्चिम राजमार्गको दूधे बजारबाट करिब १० किलोमिटर दक्षिण ग्रामीण क्षेत्रमा परियोजनास्थल रहेको छ । त्यहाँबाट नेपाल विद्युत् प्राधिकरणको शिवगञ्ज ग्रिड एक किलोमिटर नजिक छ । कम्पनीबाट उत्पादित सौर्य विद्युत्लाई राष्ट्रिय प्रसारण लाइनमा जोड्नका लागि इनर्जी आफैँले नौ सय ६० मिटर प्रसारण लाइन निर्माण गरिसकेको छ । भट्टराईले परियोजनामा उच्च प्रविधियक्त सोलार प्यानल तथा उपकरण जडान गरिने बताउनुभयो ।रासस