नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोट नगरपालिकालाई चुरे क्षेत्रबाट हटाउन आवश्यक प्रक्रिया अघि बढाइएको छ । यसका लागि सो नगरपालिकाले सङ्घीय सरकारलाई आग्रह समेत गरेको छ ।
हाल महाभारत पर्वत शृङ्खलामा रहेको सो नगरपालिकालाई चुरे क्षेत्र भनेर कायम गरिएको जनाइएको छ । गैँडाकोट नगरपालिकाले महाभारत क्षेत्रमा कायम गर्न सङ्घीय सरकारलाई सिफारिस गरी पठाउने प्रस्ताव नगर सभाबाट पारित गरिएको छ ।
गैँडाकोट नगरपालिका महाभारत पर्वत क्षेत्रमा नै पर्ने भएकाले नगरकार्यपालिका सदस्यहरुलेसमेत महाभारत क्षेत्रमा राखिनुपर्ने आवाज उठाएका थिए । चुरे क्षेत्रबाट हटाउन सङ्घीय सरकार समक्ष सिफारिस गरी पठाउने प्रस्ताव आठौँ नगर कार्यपालिकाले निर्णय गरेको थियो । सो प्रस्ताव नगर सभाले अनुमोदन गरेपछि गैँडाकोटलाई चुरेबाट हटाउन सिफारिस गरिएको हो ।
चुरे क्षेत्र राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समिति मातहतमा रहेको छ । ‘करिब चार करोड वर्ष पहिले हिमालयको उत्पत्तिको क्रममा नदीजन्य पदार्थ थुप्रिएर बनेको सबैभन्दा कान्छो पहाड नै चुरे शृङ्खला हो’ भनेर परिभाषित गरिएको छ । यो नेपालको पूर्वमा इलामदेखि पश्चिममा कञ्चनपुरसम्म ३७ जिल्लामा फैलिएको छ ।
तराईको कूल भू–भागको १२.७८ प्रतिशत चुरे क्षेत्रमा पर्ने राष्ट्रपति चुरे–तराई–मधेश संरक्षण विकास समितिले जनाएको छ । अधिकांश ठाउँमा तराईको भू–भाग सकिएर माथि उठेको भू–भाग तथा महाभारत क्षेत्रको भू–भागबाट ओर्लिंदा भेटिने अन्तिम पहाडका रुपमा चुरे पहाड रहेको छ । रासस