महानगर क्षेत्रमा जथाभावी फोहर फ्याँक्नेले अब जरिवाना तिर्नुपर्ने भएको छ । मधेस प्रदेशको वीरगञ्ज महानगरपालिकाले पछिल्लो समय महानगरलाई सुन्दर, सफा, स्वच्छ र पर्यावरणयुक्त नमुना महानगर बनाउने उद्देश्यले नियमित सरसफाइसँगै जथाभावी फोहर फ्याँक्नेलाई जरिवाना तिराउने नीति लिएको हो । विगत केही वर्षअघिसम्म अस्तव्यस्त र दुर्गन्धित नगरका रुपमा परिचित महानगर क्षेत्रलाई सरसफाइमा मुलुककै नमुना महानगर बनाउने लक्ष्यका साथ योजनाहरु अघि बढाइएपछि यतिबेला महानगर सफा र सुन्दर देखिन थालेको हो । सडकमा जथाभावी फोहर फ्याँक्ने व्यक्ति तथा सङ्घसंस्थालाई महानगरले तत्कालै जरिवाना गर्ने अभियान नै सुरु गरिएको छ । “करिब सात÷आठ वर्षअघिसम्म नगरका अधिकांश सडकमा फोहर फ्याक्ने प्रवृत्तिका कारण नगर दुर्गन्धित र कुरुप थियोे”, वीरगञ्ज महानगरपालिका–६ का रतन टेमानी भन्नुहुन्छ, “पछिल्लो समय महानगरले सरसफाइलाई विशेष प्राथमिकतामा राखेर अभियान नै चलाएपछि नगर क्षेत्रका सडक र बजार अहिले चिटिक्क र सुन्दर देखिएकोे छ ।” सडकहरु सफा, सुन्दर र फराकिलो भएकाले बल्ल आफूहरु सुन्दर र सफा महानगरवासी हुन पाएकामा गौरवको अनुभूति भइरहेको उहाँको भनाइ छ ।रासस