रोल्पा सुनछहारीका पर्शुराम रोका सात महिनाको हुँदा बुबा शहीद हुनुभयो । बुबा शहीद भएपछि टुहुरो हुनुभएका पर्शुरामलाई आमाले जसोतसो गाउँमै कक्षा ८ सम्म पढाउनुभयो । पर्शुरामलाई दाङको तुलसीपुर १७ बनकट्टामा रहेको शहीद स्मृति आवासीय माविले द्वन्द्वपीडितका छोराछोरीलाई पढाउँछ भन्ने थाहा थिएन । तुलसीपुरमा रहेकी काकीले विद्यालयका बारेमा थाहा पाएपछि उहाँ कक्षा ९ मा पढ्न आउनुभयो । “मलाई यो विद्यालयका बारेमा थाहा थिएन, यहाँ बस्ने काकीले भनेपछि मात्रै थाहा भयो र यहाँ आएँ”, उहाँले भन्नुभयो, “मैले रोल्पाबाटै कक्षा ८ पास गरे पनि यहाँ अङ्ग्रेजी माध्यम भएकाले पुनः ८ मा नै भर्ना भएर पढेँ ।” यहाँ आएपछि बुबा, आमाको माया पाएजस्तो अनुभूति भएको उहाँले बताउनुभयो । शिक्षकहरुलाई बुबा जस्तै, खाना पकाउने अन्टीलाई आमा, बुवा जस्तै र त्यहाँ पढ्ने विद्यार्थीहरुलाई दाजुभाइ जस्तै लाग्ने गरेको उहाँ बताउनुहुन्छ । “बुबा भनेको बुबा नै हो, बुबाको जस्तो माया त कहाँ पाइन्छ होला र ?”, उहाँले भन्नुभयो, “तर, यहाँ पाएपछि बुबाआमाको माया पाएजस्तै भएको छ, दाजुभाइसँग भेट भएको महसुस भएको छ ।” यहाँ सबै शहीद, बेपत्ता, घाइतेहरुका छोराछोरी भेट्दा मनका कुरा हुन्छन्, खुसी लाग्ने गरेको उहाँले बताउनुभयो । उहाँ अहिले त्यो विद्यालयमा कक्षा १२ मा व्यवस्थापन सङ्कायमा अध्ययनरत हुनुहुन्छ ।रासस