अन्तर्राष्ट्रिय साझेदारीका लागि युरोपेली सङ्घका आयुक्त जुट्टा उर्पिलाइनेन नेपालको एकदिने औपचारिक भ्रमणमा आज यहाँ आइपुग्नुभएको छ । भ्रमणका क्रममा उहाँले उच्चस्तरीय भेटवार्ता गर्नाका साथै नेपालमा युरोपेली सङ्घका विभिन्न कार्यहरुको शुभारम्भ गर्नुहुनेछ । नेपालसँगको साझेदारीलाई सुदृढ गर्न र साझा भूराजनीतिक हितका विविध विषयमा संलग्न हुनका लागि भ्रमणमा आउनुभएको यहाँस्थित युरोपेली सङ्घको प्रतिनिधिमण्डलको कार्यालयले जनाएको छ । युरोपेली सङ्घले आफ्नो ग्लोबल गेटवे रणनीति प्रस्तुत गर्दै साझेदारसँग डिजिटल, ऊर्जा र यातायात क्षेत्रमा स्मार्ट, स्वच्छ र सुरक्षित लिङ्क बढाउन तथा स्वास्थ्य, शिक्षा र अनुसन्धान प्रणालीलाई सुदृढ गर्न सकारात्मक रहेको जनाएको छ । सङ्घले नेपालको समावेशी हरित अर्थतन्त्र, मानव विकास सूचकाङ्क र सुशासन प्रवद्र्धनमा सहयोगको प्राथमिकता निर्धारण गरेको छ । आयुक्त उर्पिलाइनेनले परोपकार प्रसूति अस्पतालमा रहेको मानव दुग्ध बैंकको भ्रमण गर्नाका साथै स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीसँग नेपाल सरकारको बहुक्षेत्रीय पोषण कार्यक्रमको नवीकरणमा इयूको प्रतिबद्धता जनाउनुहुनेछ ।रासस