कैलालीको टीकापुर अस्पतालमा औषधि लिन लामो समय कुर्न बाध्य बिरामीका आफन्तले राहत पाएका छन् । अस्पतालले एक हप्तादेखि तीनवटा ‘काउन्टर’मार्फत सेवा दिन थालेपछि बिरामीका आफन्तले राहत पाएका हुन् । आकस्मिक बिरामीका लागि औषधि लिने काउन्टर अलग व्यवस्था गरिएको छ भने बीमा तथा सामाजिक सुरक्षाका र नगद खरिद गर्नलाई अलगअलग काउन्टरको व्यवस्था गरिएको छ । टीकापुर अस्पतालमा पहिलो पटक क्लिनिकल फार्मेसी अधिकृत आएपछि औषधि वितरणमा नयाँ धारणा विकास गरिएको हो । अस्पतालमा औषधि खरिदका लागि बिरामीले घण्टौँ लाइनमा बस्नुपर्ने भएपछि तीनवटा काउन्टर सञ्चालन गरिएको अस्पतालका क्लिनिकल फार्मेसी अधिकृत जनक शाहीले बताउनुभयो । “अस्पतालले औषधि व्यवस्थापनका लागि भण्डारण कक्षको व्यवस्थासमेत गरेको छ । यसले औषधि अभाव भएर बिरामीलाई पर्ने समस्या समाधान हुन्छ”, उहाँले भन्नुभयो, “बिरामीको सहजताका लागि फार्मेसीमा पाइने औषधिको नाम, काम, असर, मात्रा, प्रयोग गर्नुपर्ने तरिकाबारे जानकारी दिन ब्रोसर तयार गर्छौं ।रासस