रेडक्रस तथा रेड्क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घ (आइएफआरसी)का महासचिव जगन्नाथ चापागाईंले मानवीय सेवाका क्षेत्रमा नेपाललाई थप सहायता उपलब्ध गराउने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “म आइएफआरसीको एक सय ९२ देशको साझा महासचिव एवं कार्यकारी व्यवस्थापक हुँ, नेपाल सरकारले थप सहयोग चाहेमा नेपालका लागि थप मानवीय सहयोग उपलब्ध गराउन म तयार छु ।” चारदिने भ्रमण पूरा गरी आज आइएफआरसीको मुख्यालय स्विट्जरल्यान्डको जेनेभामा प्रस्थान गर्नुपूर्व महासचिव चापागाईंले सुरक्षित र उत्थानशील समुदाय निर्माण गर्न नेपाल सरकारको सहयोगीका रुपमा नेपाल रेडक्रस सोसाइटीले गरिरहेको मानवीय सेवाको प्रशंसा गर्नुभयो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्टकक्षमा उहाँलाई आइएफआरसीका नेपालस्थित राष्ट्रिय प्रतिनिधिमण्डल प्रमुख अजमत उल्लाले विमानस्थलमा बिदाइ गर्नुभएको थियो । महासचिव चापागाईंले भन्नुभयो, “रेडक्रस मानवीय सहयोगका लागि सर्वोच्च पवित्र निकाय हो, यसलाई अझ सुदृढ बनाउन सबैले हातेमाले गर्दै अगाडि बढौँ ।” आइएफआरसीले नेपालमा कोरोना सङ्क्रमणको जोखिमका अवस्थादेखि नै ‘कोभिड–१९ प्रतिकार्य’ योजना बनाई जोखिमका बारेमा सञ्चार तथा सामुदायिक संलग्नता र जवाफदेहितासम्बन्धी अवधारणाका माध्यमबाट नेपाल सरकारलाई सहयोग गरेको थियो ।रासस