पूर्वपश्चिम राजमार्गअन्तर्गत विस्तारका क्रममा रहेको नारायणगढ–बुटवल सडक खण्डको काम चार वर्ष पूरा हुँदा २५ प्रतिशत मात्रै पूरा भएको छ । विसं २०७५ माघ २४ मा चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेडसँग ठेक्का सम्झौता भएर सुरु सडक विस्तारको प्रगति चार वर्षमा २५ प्रतिशत मात्रै सकिएको आयोजनाले जनाएको छ । नारायणगढ–बुटवल सडक विस्तार योजना पूर्वीखण्ड प्रमुख इन्जिनियर रमेशकुमार दिष्टीका अनुसार गत साउन २२ मा सडक विस्तारको काम सक्नुपर्नेमा विभिन्न कारण देखाउँदै निर्माण कम्पनीले तीन सय ८६ दिन म्याद थप गराएको छ । “सडक विस्तारको काम सक्नुपर्ने समयसम्म १८ प्रतिशत भौतिक प्रगति देखिएको थियो”, इन्जिनियर दिष्टीले भन्नुभयो, “म्याद थप भएको छ महिनामा थप सात प्रतिशत भौतिक प्रगति भएको छ ।” अहिले सडक विस्तारका लागि सबै प्रकारका कामहरु भइरहेका योजनाको पूर्वीखण्ड प्रमुख दिष्टीले बताउनुभयो । नारायणगढ–बुटवल सडक विस्तार योजनाको पूर्वीखण्डका सूचना अधिकारी इन्जिनियर धिरज ढकालले अहिले व्यवस्थित तरिकाले सडक विस्तारको काम भइरहेको बताउनुभयो । “अहिले यस खण्डमा कल्भर्ट निर्माण, साना पुल निर्माण, ठूला पुल निर्माणका कामहरु भइरहेका छन्”, उहाँले भन्नुभयो, “गैँडाकोटको भेँडाबारी क्षेत्रमा करिब एक किलोमिटर क्षेत्रमा अक्स्पाल्ट (कालोपत्र)को काम गरिएको छ ।” भेँडाबारी क्षेत्रमा एकतर्फी अक्स्पाल्टको काम भइरहेको भन्दै इन्जिनियर ढकालले सबबेस (कालोपत्र गर्नुपूर्वको अवस्था)को काम एकतर्फी १४ किलोमिटर क्षेत्रमा सकिएको बताउनुभयो ।रासस