काभ्रेपलाञ्चोक, २५ माघ (रासस) ः धुलिखेल नगरपालिकाले कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउने तयारी गरेको छ । यसका लागि नगरपालिका जापानको रिनोकिनो कम्पनीसँग सम्झौता गर्ने प्रक्रियामा पुगेको हो । उक्त कम्पनीले धुलिखेलका कृषकलाई जापानिज सीप र प्रविधि तथा भाषाबारे छमहिने तालिमसमेत दिनेछ । नगर जनप्रनिधि र कम्पनी पदाधिकारीसँगको छलफलपछि केही हप्तामा दुवै पक्षबीच सम्झौता गरिने जनाइएको छ । जापानका विभिन्न दश कृषि उद्योग र होम केयर कम्पनीमा धुलिखेलका कृषकलाई रोजगारी दिने समेतको सम्झौता गरिने नगरप्रमुख अशोककुमार ब्याञ्जूले बताउनुभयो । उहाँका अनुसार सम्झौताअनुसार जापानिज भाषा, सीप र प्रविधिको तालिमपछि सीप परीक्षण गरी उत्तीर्ण हुने कृषकलाई जापानमा कृषि क्षेत्रमै रोजगारीका लागि पठाइने छ । “जापानमा निश्चित समय बसेर फर्कने कृषकलाई पुनः कृषि पेसा गर्न चाहे नगरपालिकाले प्रविधिमा सहयोग गर्नेछ”, ब्याञ्जूले भन्नुभयो । उहाँले करिब एक महिनापछि दुई पक्षबीच सम्झौता गरिने सहमति भएको बताउनुभयो । नगरपालिकाले यसअघि कृषि ऐन, कानुन तथा नियमावली बनाइसकेको छ । सम्झौतापछि नगरपालिकाको कृषि क्षेत्रमा थप आधुनिकीकरण हुने अपेक्षा गरिएको छ । यसैबीच नगरपालिकाले एक लाख बिरुवा रोपण अभियान सञ्चालन गरिरहेको छ । शून्य कार्बन उत्सर्जन गर्ने विश्वका १५ नगरमध्येको एक पर्यटकीय नगर धुलिखेलले थप कार्बन उत्सर्जनको पूर्वाधार र संरचना निर्माण गर्न हाल अभियानअन्तर्गत पहिलो चरणमा तीन वडामा १५ हजार फलफूलका बिरुवा रोपण गरिएको हो ।रासस