चालू आर्थिक वर्षको छ महिनामा तनहुँमा चार सय ३५ उद्योग दर्ता भएका छन् । पर्यटन तथा उद्योग कार्यालयमा आव ०७९÷८० को छ महिनाको अवधिमा चार सय ३५ उद्योग दर्ता भएका हुन् । सो अवधिमा सेवामूलक, उत्पादनमूलक, कृषि तथा वन वातावरण, पर्यटन उद्योग दर्ता भएको कार्यालय प्रमुख अविनाश कुँवरले जानकारी दिनुभयो । तीमध्ये ३४ उत्पादनमूलक, दुई सय ६७ कृषि तथा वन पैदावर, एक पूर्वाधार, ७० पर्यटन, एक सूचना प्रविधि र ६२ सेवामूलक उद्योग दर्ता भएका हुन् । जिल्लामा कृषि र पशुपालनमा युवाको आकर्षण बढेसँगै कृषिसम्बन्धी उद्योग दर्ता बढेको उहाँको भनाइ थियो । “वैदेशिक रोजगारीबाट फर्किएका युवाहरु पशुपालनतर्फ आकर्षित भएका छन्”, प्रमुख कुँवरले भन्नुभयो, “यसले गर्दा कृषि तथा वन पैदावरमा आधारित उद्योगको दर्ता बढाएको छ ।” कृषि तथा वनजन्यतर्फ दुग्ध डेरी, गाईपालन, बाख्रापालन, कुखुरापालन, मौरीपालन, माछापालन र तरकारी खेतीतर्फ आकर्षण बढ्दो छ । वाणिज्यतर्फ सोही अवधिमा दुई सय ९२ नयाँ व्यवसाय दर्ता भएका छन् । आर्थिक वर्ष ०७८÷७९ मा जिल्लामा पाँच सय ७९ उद्योग दर्ता भएका थिए । यसैगरी आव ०७७÷७८ मा दुई हजार एक र ०७६÷७७ मा तीन हजार पाँच सय १५ उद्योग थपिएको थियो । उक्त कार्यालयले गत आर्थिक वर्षमा जिल्लाका एक सय ६२ फार्म खारेज गरेको थियो । सञ्चालनमा नरहेका र खारेजका लागि निवेदन परेपछि ती फार्म खारेज गरेको कार्यालयले जनाएको छ ।रासस