दश स्थानीय तह रहेको खोटाङका अधिकांश बासिन्दा आफ्नो भान्छामा बाहिरबाट आयात गरिएको खाने तेल प्रयोग गर्छन् । विसं २०७८ को जनगणनाअनुसार दुई लाख छ हजार तीन सय १२ जनसङ्ख्या रहेको जिल्लामा न्यून बासिन्दाले मात्रै घ्यू तथा आफैँले उत्पादन गरेका तोरी र सूर्यमुखी फूलको तेल प्रयोग गर्दै आएका छन् । दुई नगरपालिका र आठ गाउँपालिका रहेको जिल्लामा सबैभन्दा बढी सूर्यमुखी फूलको प्रशोधित तेल खपत हुने गरेको छ । जिल्लामा सूर्यमुखी फूल, तोरी र भटमास गरी वार्षिक रु एक अर्ब ५० करोड बढीको प्रशोधित खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङ्घ खोटाङका महासचिव मनोज बजिमयले जानकारी दिनुभयो । तराईका विभिन्न जिल्लाबाट खरिद गरी ल्याएको सूर्यमुखीको तेल दिक्तेल बजारमा प्रतिप्याकेट (आधा लिटर) रु एक सय २५ मा खरिद बिक्री हुँदै आएको छ । सोही सूर्यमुखीको तेल दिक्तेल बजारबाहेक विकट गाउँमा प्रति प्याकेट रु एक सय ५० सम्ममा खरिद बिक्री हुने गरेको छ । जिल्लामा गाईभैँसीपालन गर्दै आएका स्थानीय बासिन्दाले समेत तोरी तथा सूर्यमुखी तेल नै प्रयोग गर्ने गरेका छन् । आफूले उत्पादन गरेको घ्यूभन्दा तेल सस्तो भएकाले प्रयोग गर्ने गरेको किसानले बताउँछन् । सबैभन्दा बढी जनसङ्ख्या रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा वार्षिक रु ४० करोड बढीको खाने तेल खपत हुने गरेको उद्योग वाणिज्य सङ्घको तथ्याङ्कले देखाएको छ । पन्ध्र वडा रहेको दिक्तेल रुपाकोट मझुवागढीको जनसङ्ख्या ४३ हजार दुई सय ९५ छ ।रासस