पूर्वी पहाडी जिल्लालाई तराई हुँदै सङ्घीय राजधानीसँग जोड्ने कोसी राजमार्ग निर्माणको काम झन्डै आधा सकिएको छ । कतै कालोपत्र भइरहेको त कतै ट्र्याक खोल्न बाँकी सो राजमार्ग निर्माण औसतमा ५० प्रतिशत सकिएको हो । सो करिडोरमा अहिलेसम्म ५७ किलोमिटर सडक ग्राभेल भएको आयोजनाले जनाएको छ । कालोपत्र गर्न चार ठेक्कामार्फत काम भइरहेको र तीनको अवधि अब दुई वर्ष रहेको उत्तर–दक्षिण करिडोर आयोजना निर्देशनालयका प्रमुख श्यामबहादुर खड्काले बताउनुभयो । कूल ४९ किमी लम्बाइमा दोभानसम्म नाली बनाउने, पर्खाल लगाउनेलगायतका संरचनाको काम भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “यस वर्ष संरचना बनिसकेपछि कालोपत्रका लागि प्रक्रिया अघि बढाइनेछ ।” पछिल्लो समयमा निर्माण कम्पनीले स्रोत बढाएर काम गरिरहेको उहाँले बताउनुभयो । आयोजना आफैँले गर्नुपर्ने ठाउँमा ट्र्याक खोलिसकिएको र कडा चट्टान भएको खण्डमा सेनाले ट्र्याक खोलिरहेको आयोजनाका प्रमुख खड्काले बताउनुभयो । किमाथाङ्काबाट तल खाँदबारीलाई शून्य मान्दा एक सय ३४ किमीदेखि देखि एक सय ४८ किमीसम्म काम सम्पन्न भइसकेको उहाँले बताउनुभयो । कडा चट्टान रहेको साढे १० किमी सडकमा सेनाले ट्र्याक खोल्ने काम गरिरहेको आयोजनाले जनाएको छ । ट्रयाक खोलेपछि सेनाले हस्तान्तरण गर्ने र त्यसपछि नै स्तरोन्नतिको काम हुने आयोजना प्रमुख खड्काले बताउनुभयो । करिडोरको चौडाइ नौ मिटर रहेको छ । झन्डै सात मिटर कालोपत्र र त्यस बाहिर अरू संरचना निर्माण गरिने उहाँले बताउनुभयो ।रासस