प्रतिनिधिसभालाई आगामी दिनमा कार्यतालिका बनाएर सञ्चालन गर्ने विषयमा दलहरूबीच सहमति भएको छ ।

प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको आजको बैठकमा संसद् र सांसदलाई जनताप्रति उत्तरदायी तुल्याउन सभा सञ्चालनका लागि कार्यतालिका बनाएर काम गर्ने विषयमा सदस्यरूबीच मतैक्य भएको हो । बैठकमा समिति सदस्य एवं पूर्वसभामुख सुवास नेम्वाङले मुख्य जिम्मेवारी कानून निर्माणमै सांसदको ध्यान केन्द्रित गर्न कार्यतालिका बनाएर संसद् चलोस् भन्ने सबैको मत आएको बताउनुभयो ।

कानून निर्माण गर्ने मुख्य जिम्मेवारीमा रहने सांसद हाजिर गरी फर्कने, सदनका कुर्सी खाली हुने, विधेयक पारित गर्ने बेलामा कोरम नपुग्ने अवस्था अन्त्य गर्न कार्यतालिका बनाएर काम गर्ने मस्यौदा समितिमा सहमति भएको हो । समिति सदस्य एवं पूर्वमन्त्री हितराज पाण्डेले आगामी दिनमा सदनलाई कार्यतालिका बनाएर प्रभावकारी तुल्याउन सबैबाट प्रयत्न हुनुपर्छ भन्ने आवाजलाई सकारात्मकरूपमा लिुपर्छ भन्नुभयो ।

समिति सदस्य प्रभा भट्टराईले मुख्य जिम्मेवारी कानून निर्माणलाई बिर्सेर हाजिर गरेर सदनबाट जनप्रतिनिधि बाहिरिने प्रवृत्तिलाई रोक्न जरुरी रहेको बताउनुभयो । सांसद प्रेम सुवालले सदनलाई प्रभावकारी र चुस्त तुल्याउन संसद् र संसदीय समितिमा सांसदको उपस्थिति निरन्तर हुन जरुरी रहेको धारणा राख्नुभयो ।रासस