सतहदेखि तीन हजार पाँच सय मिटरमा अवस्थित फक्ताङलुङ गाउँपालिका–६ घुन्साका पेमा शेर्पा गत मङ्सिर तोस्रो साता गाउँ छोडेर काठमाडौँतिर लाग्नुभयो । शेर्पा बसाइँसराइ भई गएको चाहिँ होइन । उहाँ हिउँ छल्न काठमाडौँ जानुभएको हो । शेर्पा यस वर्षमात्र हिउँ छल्न काठमाडौँ पुग्नुभएको होइन, हिउँ पर्ने समयमा गाउँ छोडेर कहिले सदरमुकाम फुङ्लिङ बजार त कहिले काठमाडौँ पुग्ने गर्नुहुन्छ । हिमपात हँुदा धेरै जाडो हुने भएकाले जोडो छल्न सोही गाउँका उटुक शेर्पा पनि घुन्सा गाउँ छोडेर काठमाडौँ पुग्नुभएको छ । पेमा र उटुकजस्तै गाउँका अधिकांश हिउँ छल्न अन्यत्र गएपछि यहाँ बस्ती सुनसान जस्तै बनेको छ । मिक्वाखोला गाउँपालिका–५ पापुङको तोक्पेगोला बस्ती अहिले रित्तो भएको छ । गत मङ्सिर अन्त्यदेखि नै तोक्पेगोलाका बासिन्दा हिमपात छल्न सहर बजारतिर झरेपछि अहिले बस्ती खाली भएको हो । विगत वर्षहरुमा मङ्सिरको तेस्रो सातादेखि नै यस तोक्पेगोलामा बस्तीमा हिमपात सुरु हुन्थ्यो । वडाध्यक्ष ग्यान्जे लामा शेर्पाका अनुसार हिमपात हुँदा अत्यधिक चिसो हुने हुँदा हिउँ छल्नका लागि हिउँदभर तोक्पेगोला बस्ती खाली हुने गरेको छ । विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशिखरको आधार शिविर प्रवेशद्वार हो घुन्सा गाउँ । यहाँको समुदाय प्रत्येक वर्ष हिउँ छल्न सदरमुकामदेखि काठमाडौँ पुग्ने गरेको घुन्साका स्थानीय टासी तेन्जिङ शेर्पाले बताउनुहुन्छ । शेर्पाका अनुसार घुन्सा गाउँका ३३ घरपरिवारमध्ये मङ्सिर सुरु भएसँगै २० घरपरिवार अन्यत्र गइसकेका छन् । अहिले १३ परिवार मात्र गाउँमा छन् । यहाँको प्रमुख आम्दानीको स्रोत पर्यटन र पशुपालन हो ।रासस