सुरक्षित आप्रवासन कार्यक्रम तथा भावी योजनासम्बन्धी स्थानीय सरकारका पदाधिकारीसँगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा परियोजनाको समय सकिएपछि पनि पालिका तहमा यसलाई निरन्तरता दिने विषयमा छलफल भएको हो । सामी परियोजनाले यहाँ आयोजना गरेको कार्यक्रममा कार्यक्रम लागू भएका चार पालिका तथा नभएका अन्य पालिका प्रमुखहरुको सहभागिता थियो । कार्यक्रममा वैदेशिक रोजगारीमा गएका व्यक्तिको सुरक्षामा सबै पालिकाले चासो बढाउनुपर्ने सहभागीहरुले बताउनुभयो । हाल लागू भएको कार्यक्रम आगामी २०८१ असारपछि अन्त्य हुने भए पनि पालिकाले निरन्तरता दिनुपर्ने परियोजनाको आप्रवासी स्रोत केन्द्रका संयोजक मीनप्रसाद उपाध्यायले बताउनुभयो । कार्यक्रममा परियोजनाका भक्त राई, शिव रेग्मीलगायतले प्रस्तुतिकरण गर्दै पालिकाले आजैदेखि योजना बनाएर स्रोत केन्द्र सञ्चालनको थालनी गर्न आग्रह गर्नुभएको थियो । पालिकाले वार्षिक रू ११ लाख लगानी गर्नुपर्ने प्रारम्भिक अध्ययन प्रतिवेदनमा उल्लेख छ । परियोजना बागलुङ, गलकोट र जैमिनी नगरपालिका तथा काठेखोला गाउँपालिकामा सञ्चालित छ ।रासस