सम्झौता भएको दुई वर्षपछि काठमाडौँ महानगरपालिकाको मुख्य–मुख्य सडकमा ‘स्मार्ट स्ट्रिट लाइट’ (स्मार्ट सडक बत्ती) जडान गर्ने कार्य अघि बढेको छ । बत्ती जडानको लागि पहिलो पटक विसं २०७७ मङ्सिर २५ गते काठमाडौँ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभागबीच सहकार्य गर्ने गरी सम्झौता भएको थियो । यस अघि मुख्य विषय स्मार्ट सडक बत्ती जडान गर्ने सम्बन्धमा सम्झौता भए पनि कुन कम्पनीको, कति थान र कुन क्षमताको बत्ती जडान तथा त्यसको मर्मतसम्भार कस्ले गर्ने र बत्तीको महसुल कस्ले तिर्नेजस्ता विषय स्पष्ट नभएकाले काम अघि बढ्न सकेको थिएन । केही दिनअघि ती सबै विषयमा पुनः सम्झौता भएपछि बत्ती जडानको काम अघि बढेको हो । कामपाको भौतिक पूर्वाधार विभाग प्रमुख राम थापाका अनुसार अलमल भएका तथा कुरा नमिलेका विषयमा पनि थप सहमति भई सम्झौता भइसकेकाले बत्ती जडानको काम अघि बढ्ने भएको हो । बत्ती जडान गर्न रु ११ करोड ९९ लाख ७४ हजार नौ सय २५ लागत अनुमान गरिएको छ । जसमा कामपाले ६० र नेपाल विद्युत् प्राधिकरणले ४० प्रतिशत रकम व्यहोर्ने छन् । रातको समयमा यातायात तथा मानवीय आवागमन, शान्ति सुरक्षा तथा सामाजिक सुरक्षा कायम गराउन आधुनिक बत्ती जडान गर्न लागिएको हो । स्रोत साधन र प्रविधिको उच्चतम उपयोग गर्दै सडक बत्तीको गुणस्तर तथा यसले सौन्दर्यलाई एकरुपता कायम गर्न साझेदारसँग सहकार्य गरिएको विभागका प्रमुख थापाको भनाइ छ । लैनचौरदेखि महाराजगञ्ज, माइती घर मण्डलादेखि बागबजार, बागबजारदेखि शीतल निवास, सिनामङ्गल अन्तरराष्ट्रिय विमानस्थलदेखि गौशालाहुँदै कमल पोखरी र चावहिलदेखि जोरपाटीसम्म बत्ती जडान हुनेछन् ।रासस