पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा पारिस्थितिक प्रणालीमा प्रत्यक्ष तथा अप्रत्यक्ष प्रभाव परिरहेको छ । पाथीभरामा एकै दिनमा २० हजार धार्मिक पर्यटक पुग्ने गरेको पाथीभरा क्षेत्र विकास समितिको तथ्याङ्क छ । त्यस्तै दोस्रो विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमाल हो । कञ्चनजङ्घा क्षेत्रमा बसोबास गर्ने समुदायको मुख्य आम्दानीको स्रोत पर्यटन हो । कञ्चनजङ्घा संरक्षण तथा व्यवस्थापन परिषद्का कार्यालय सचिव मनकुमार लिम्बूले पाथीभरा क्षेत्रमा समयमा हिमपात र वर्षा नहुँदा समस्या हुन थालेको बताउनुभयो । सेताम्य हिमालको अवलोकन गर्न तथा हिमालको आनन्द लिन पर्यटक हिमालमा आउने गर्दछन् । हिमाल कालो चट्टानजस्तै बन्दै गयो भने कालो चट्टान हेर्न त पर्यटक आउँदैनन् होला भन्ने चिन्ता लागेको पर्यटन व्यवसायी सेराप शेर्पाले बताउनुभयो । कञ्चनजङ्घा आउने पर्यटक लक्षित गरेर कञ्चनजङ्घा हिमाल जाने पदमार्गमा सानो–ठूलो लगानीको ५२ होटल सञ्चालनमा रहेको परिषद्को तथ्याङ्क छ । फक्ताङ्लुङ गाउँपालिका–६ ग्याप्लामा रु सात करोडभन्दा माथिको लगानीमा बनेको सिङ्गी नामजोङ्ग होटल पर्यटक नआएपछि सबै कोठामा ताल्चा लागेको छ । समुद्र सतहदेखि तीन हजार पाँच सय मिटरदेखि चार हजार पाँच सय मिटर उचाइमा रु एक करोडभन्दा बढी लगानीमा बनेका चारवटा होटल सञ्चालनमा रहेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्को कार्यालयका कार्यक्रम सहायक संयोजक जितेन चेम्जोङले बताउनुभयो । अन्य रु ८० लाखदेखि माथिका लगानीमा होटल सञ्चालनमा रहेको चेम्जोङको भनाइ छ ।रासस