सूचना प्रविधिको क्षेत्रमा नेपाल प्रतिस्पर्धी बन्दै गएको भए पनि आन्तरिक उत्पादन र सेवाको प्रवद्र्धन हुन नसक्दा यो क्षेत्र फस्टाउन नसकेको जानकारहरुले बताएका छन् । यहाँ आजदेखिसुरु भएको ‘इन्फो डेभलपर्स क्यान इन्फोटेक– २०२३’ प्रदर्शनीको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले यो सूचना प्रविधिको युग रहेको बताउँनुहुँदै यो राष्ट्रियतासँग पनि जोडिएको बताउनुभयो । अर्थतन्त्रमा महत्वपूर्ण योगदान पु¥याउने यस क्षेत्रलाई राज्यले संरक्षण र प्रवद्र्धन गर्न नसकेको उहाँको भनाइ छ । “आर्थिक समृद्धिका लागि सूचना प्रविधिको योगदान महत्वपूर्ण छ । यो राजस्व बढाउने र राष्ट्रियता स्थापित गर्न सकिने क्षेत्र रहेछ । सानो–सानो कुरामा ध्यान दिँदा अर्बौं राजस्व जोगिने मात्र नभई यसबाट हामी राजस्व सिर्जना गर्न पनि सक्ने रहेछौँ । राष्ट्रियता जोगाउने सवालमा पनि प्रविधि क्षेत्रको भूमिका महत्वपूर्ण छ”, मन्त्री शर्माले भन्नुभयो । सूचना प्रविधि क्षेत्रलाई राज्यले प्राथमिकतामा राख्न नसक्दा जनशक्ति विकासमा उल्लेख्य प्रगति हुन नसकेको पनि उहाँले बताउनुभयो । “विगतमा राजनीतिक अस्थिरताका कारण मुलुकको आर्थिक विकासका लागि कुन क्षेत्रलाई प्राथमिकतामा राख्ने भनेर अस्पष्टता रह्यो । हामीले जनशक्ति जोगाउन नसक्दा बाहिर जाने र त्यस्तो जनशक्ति हामीलाई चाहिँदा बाहिरबाट ल्याउनुपर्ने अवस्था छ”, शर्माले भन्नुभयो ।रासस