कुनै बेला आँपको चौतारमा पठनपाठन हुने गरेको पोखरा महानगरपालिका–१७ महतगौडामा अहिले सामुदायिक विद्यालयमा माध्यमिक तहसम्मको शिक्षासँगै वनविज्ञान समेतको अध्यापन भइरहेको छ । शिक्षाको अपरिहार्यता महसुस गर्दै यहाँका बासिन्दाले आजभन्दा झन्डै छ दशकअघिसम्म यहाँका आँपका चौतारा हुँदै खरले छाएको छाप्रोमा पढ्ने गरेकामा अहिले भने भौतिकरुपमा सुविधासम्पन्न जानकी माध्यमिक विद्यालयमा पठनपाठन भइरहेको छ । आँपको चौतारामा पढाइ भइरहँदा घाम तथा पानीको समस्या परेपछि घरघरबाट चारमुट्ठा खर र एउटा बाँस सङ्कलन गरी छाप्रो बनाएर पढाउन थालिएको ८८ वर्षीय चुडामणि भण्डारीलाई झलझलती याद आउँछ । आफ्नो समयमा गाउँमा पठनपाठन सुरु नहुँदा दोपहरे मामाको घरमा बसी कृष्तीनाच्ने चौरमा बाह्रखरी पढेको अनुभव सुनाउँदै उहाँ त्यसै प्रेरणाबाट गाउँमा विद्यालय खोल्नका लागि सक्रियता बढाइएको बताउनुहुन्छ । विसं २०२३ तिर गाउँमा नै पढाउनुपर्ने आवश्यकता महसुस गरी आँपको चौतारामा पढाउन थालिएको र पछि व्यवस्थित गराउँदै लैजाने क्रममा खर तथा बाँस प्रयोग गरी छाप्रो बनाइएको भण्डारी सुनाउनुहुन्छ । विद्यालयले संस्थागतरुपमा भने झन्डै डेढ दशकपछि मात्रै २०३५ सालमा सरकारी मान्यता प्राप्त गरेको हो ।
विद्यालय रहेको जग्गामा पनि लामो समयसम्म विवाद भएको स्मरण गर्दै उहाँ त्यसबारे आफू लगायतले ११ वर्षसम्म तारिक बोक्नुपरेको गुनासो गर्नुहुन्छ । “यहाँको विद्यालय स्थापना गर्न महतगौंडावासीको धेरै श्रम र पसिना खर्चिएको छ”, भण्डारी भन्नुहुन्छ, “दुःख गरेर बनाइएको विद्यालयमा पछिल्ला वर्षमा विद्यार्थी सङ्ख्या घट्नु चिन्ताको विषय बनेको छ ।” स्थानीयवासीले निजी विद्यालयमा आफ्ना बालबच्चा पठाउन थालेका कारण पनि सामुदायिक विद्यालयमा केवल विपन्न, मजदुरका बालबालिका मात्रै पढाउने प्रचलन बढ्नाले राज्यको शिक्षाप्रतिको लगानी पनि अवमूल्यन भएको उहाँको भनाइ छ । महतगौडाकै ९४ वर्षीय चन्द्रकान्त भण्डारी आफूहरूले पढ्न नपाए पनि सन्ततिका लागि शिक्षाको उज्यालो घाम लागोस् भन्ने उद्देश्यले विद्यालय खोलेको बताउनुहुन्छ । “तत्कालीन समयमा धनञ्जय भण्डारी तत्कालीन गाउँ मुखिया, देवदत्त भण्डारी, दानबहादुर मगर, धनराज सुवेदी, प्रेमलाल भण्डारी, नरहरि भण्डारी, जीतबहादुर भण्डारी, धर्मदत्त भण्डारीलगायतको विद्यालय खोल्नमा ठूलो योगदान थियो”, उहाँ भन्नुुहन्छ, “समाजलाई सचेत बनाउनका लागि गरिएको प्रयासले यस क्षेत्रको शिक्षाको विकासमा महत्वपूर्ण योगदान पु¥याएको छ ।” तत्कालीन समयमा कसैको गाईवस्तुले खेतबाली खाइदिएमा तिर्नुपर्ने अर्मलसमेत सम्बन्धित व्यक्तिले नलिई स्कुल सञ्चालनका लागि जम्मा गर्ने गरेको उहाँ उहाँ सुनाउनुहुन्छ ।रासस