अन्तर्राष्ट्रिय विकासका लागि अमेरिकी नियोग (युएसएआइडी) की प्रमुख सामन्था पावरले मध्यपुरथिमि नगरपालिका–२ सानोठिमीस्थित आदर्श माध्यमिक विद्यालयको नवनिर्मित भवन हस्तान्तरण गर्नुभएको छ । विद्यालयमा आज आयोजित कार्यक्रममा उहाँले सो भवन हस्तान्तरण गर्नुभएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं मध्यपुरथिमि नगरपालिका–२ का वडाध्यक्ष श्रीकृष्ण श्रेष्ठका अनुसार युएसएआइडीको रु २२ करोड सहयोगबाट उक्त भवन निर्माण गरिएको हो । विसं २०७२ को भूकम्पबाट क्षतिग्रस्त भवन पुनःनिर्माण गर्न र स्थानीय समुदायसँग साझेदारी कार्यक्रममार्फत विद्यालयलाई सहयोग गरिएको हो । प्रमुख पावरले शिक्षा र सामाजिक क्षेत्रमा थप सहयोग गर्नेबारे चासो लिनुभएको अध्यक्ष श्रेष्ठले बताउनुभयो । सो अवसरमा पावरले विद्यालयका छात्राहरुसँग बास्केटबलसमेत खेल्नुभएको थियो । विद्यार्थीसँग अन्तक्र्रिया गर्दै उहाँले उहाँहरूको भविष्यका योजना र लक्ष्यबारेका विचार सुन्नुभएको थियो ।रासस
