मोरङको सुन्दरहरैँचास्थित पूर्वाञ्चल विश्वविद्यालय गोठगाउँमा मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृति प्राप्त भएको छ । पूर्वाञ्चल विश्वविद्यालय स्थापनको २९औँ वर्ष चलिरहँदा यसले पूर्णता पाएको हो । कोसी अञ्चल अस्पताललाई टिचिङ अस्पतालका रूपमा प्रयोग गरी पूर्वाञ्चर विश्वविद्यालयमामेडिकल कलेज सञ्चालन गर्ने तयारी भएको मोरङ क्षेत्र नं ३ का सांसद डा सुनिल शर्माले बताउनुभयो । अस्पताल सेवा विस्तारका साथै मेडिकल कलेज सञ्चालनका लागि मोरङ क्षेत्र नं ३ का सांसद डा शर्मा तथा प्रदेशमन्त्री जीवन आचार्यलगायतले पहल गर्नुभएको र प्रधानमन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री दुवै सकारात्मक भएपछि मन्त्रिपरिषदबाट निर्णय भएको सुन्दरहरैँचा नगरपालिकाका निर्वतमान नगरप्रमुख शिवप्रसाद ढकालको भनाइ छ । सांसद डा शर्माले चुनावी प्रतिबद्धतापत्रमा विश्वविद्यालयमा मेडिकल कलेज सञ्चालन गर्ने उल्लेख गर्नुभएको थियो । उहाँले कम्तीमा तीन सय शय्याको अस्पताल सञ्चालन नभए मेडिकल कलेज सञ्चालन गर्न नपाइने बताउनुभयो । “त्यसैले मेडिकल कलेज सञ्चालनका लागि आधारभूत काम अस्पताल सञ्चालन गर्नु हो”, उहाँले भन्नुभयो । उहाँले विश्वविद्यालयका उपकुलपति प्रा डा यादवराज कोइराला, कुलसचिव नीलमणि पोख्रेल र अस्पताल निर्देशक डा विपेश आचार्यसँग अस्पताल सञ्चालनका विषयमा सघनरूपमा छलफल भइ मेडिकल कलेज सञ्चालनका लागि मन्त्रिपरिषद्बाट स्वीकृत भएको उल्लेख गर्नुभयो । “अब कुनै पनि बहानामा अस्पताल सञ्चालनरोकिने छैन”, शर्माले भन्नुभयो, “अस्पताल पूर्णरूपमा सञ्चालन भएसँगै मेडिकल कलेज सुरु गर्न अब कुनै अप्ठ्यारो हुँदैन ।रासस