तराईमधेशमा लागेको बाक्लो हुस्सु र चिसो स्याँठ चल्दा दैनिक जनजीवन प्रभावित बनेका छन् । मध्य माघपछि त घाम तात्दै गएर कामकाजमा निस्कन मौसम अनुकूल नै हुने विगत सम्झनेहरु यसपालि मौसम फरक परेकामा छक्क परेका छन् । “बाँचीवर्ती रहे भोग्न, देख्न पाइने रे’छ, माघ निगल्दो चिस्यो स्याँठ र दिउँसै रात पार्ने हुस्सु देखे, भोगेको त्यति सम्झना छैन”, गुहाली (गोठ)को एक छेउमा आगो तापिरहेकी महोत्तरीको बर्दिबास–७ मनहरिपुरकी ७२ वर्षीया इन्द्रमाया पौडेल भन्नुहुन्छ, “आधा दिन बित्दासम्म के दिन के रात खुट्याउनै नसकिने गरी हुस्सुले डम्म ढाकी राछ ।” शिशिरयाममा जाडो स्वभाविक भए पनि वसन्तपञ्चमीपछि घाम तात्दै जाने अनुभव सँगालेका यस भेगका पाका उमेरका सर्वसाधारण यसपालि मध्य माघयताको बाक्लो हुस्सु र चिसो स्याँठ यसअघि त्यति नव्यहोरिएको बताउँछन् । ठ्याक्कै वसन्तपञ्चमी मनाइएको तीन दिनपछि देखि नै फेरि बाक्लो हुस्सुले डम्म ढाकेर चिसो स्याँठ बहन थालेपछि यहाँका पाका उमेरका सर्वसाधारण मौसम उल्टोपाल्टो चल्न थालेको भन्दै छक्क परेका हुन् । “हाम्रो चलनमा त तिलासक्रायत (माघेसङ्क्रान्ति) नै घाम तात्न थाल्ने पर्व मानिन्छ, वसन्तपञ्चमी मनाइएपछि त वसन्त नै लागेको मान्ने चलन छ, तर यसपालि त निगल्दो माघले पनि छिप्पिएको पुस सम्झाउँदै छ”, भङ्गाहा–४ रामनगरका ७५ वर्षीय वृदेवसिंह दनुवारले भन्नुभयो ।रासस