भूकम्प प्रभावित टर्कीएलाई सघाउन उद्धारकर्मी र राहत सामग्रीसहित भारतीय वायुसेनाका थप दुई विमान पठाउने भएको छ । उद्धार तथा राहतका कार्यमा सहयोग गर्न ६० पारा फिल्ड अस्पताल र कर्मचारीसहित आज साँझ र पछि टर्कीमा थप दुई वटा भारतीय वायुसेना विमान टर्कीए पठाइने रक्षा अधिकारीहरूले बताएका छन् । आगरास्थित आर्मी फिल्ड अस्पतालले ८९ सदस्यीय मेडिकल टोली पठाएको छ । यसैगरी भारतले पठाएको सहायताको पहिलो खेप टर्कीएको अदाना पुगेको छ । फिलिपिन्सका राष्ट्रपति फर्डिनान्ड रोमुआल्डेज मार्कोसले भूकम्प पीडितहरूको खोजी, उद्धार र सहयोगका निम्ति ८५ सदस्यीय टोली टर्कीए पठाउने बताउनुभएको छ । उहाँले फिलिपिन्सको टोलीमा स्वास्थ्यकर्मी र इन्जिनियर रहने आज पत्रकारहरूलाई जानकारी दिनुभयो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको निर्देशनअनुसार उद्धारमा सहयोग गर्न एक सयभन्दा बढी रुसी उद्धारकर्ता टर्कीए पुगेका छन् । खोज र उद्धारमा उपयोग हुने एन्डोस्कोप, ध्वनिक उपकरण, जियोराडार र थर्मल इमेजरसहित रुसी टोली त्यहाँ पुगेको हो । त्यसैगरी संयुक्त राष्ट्रसङ्घका विभिन्न विशिष्टिकृत निकाय पनि राहत सामग्री लिएर टर्कीए पुगेका छन् । विश्व स्वास्थ्य सङ्गठन, विश्व खाद्य कार्यक्रमको टोली भूकम्प प्रभावित क्षेत्रमा पुगेको छ ।रासस