काठमाडौँको चन्द्रागिरि नगरपालिका कृषिका लागि उर्वर क्षेत्र मानिन्छ । अहिले पनि काठमाडौँको कलङ्की-नागढुङ्गा रुटमा सडक यात्रा गर्दा तरकारी खेतीका लागि तयार टनेल देख्न सकिन्छ । खेतीका लागि उपयुक्त वातावरणका साथै यहाँबाट ढुवानी पनि सहज हुने भएपछि किसानहरुको खेतीप्रतिको आकर्षणबढेको हो । कृषिका लागि उर्वरभूमि चन्द्रागिरिमा पछिल्लो समयमा कङ्क्रिटका घरहरु बाक्लिँदै जाँदा खेतीयोग्य जमिन बिस्तारै घट्दै जाने चिन्ता पनि थपिएको छ । यस क्षेत्रमा बढ्दो जग्गा प्लटिङका कारण खेतीयोग्य जमिनमा मासिन थालेको छ । यस क्षेत्रमा तरकारी खेती गर्ने अधिकांश किसान काठमाडौँभन्दा बाहिरी जिल्लाका छन् । उनीहरुले जग्गा भाडामा लिएर तरकारी खेती गरिरहेका छन् । चन्द्रागिरि नगरपालिकाको कृषि शाखाका अनुसार ८० देखि ९० प्रतिशत किसान बाहिरी जिल्लाबाट आएका छन् । उनीहरुले प्रतिरोपनी वार्षिक रू १० हजारदेखि २५ हजारसम्म भाडा बुझाउने गरेका छन् । रोल्पाबाट आएका कर्णबहादुर घर्तीमगरले चन्द्रागिरि नगरपालिका–४ थानकोटमा ३५ रोपनी जग्गा भाडामा लएर तरकारी खेती गरिरहनुभएको छ । उहाँ अहिले गोलभेँडा स्याहार गरी फेरि गोलभेँडा रोप्ने तयारीमा हुनुहुन्छ । यस क्षेत्रका केही किसानले तरकारीखेतीबाट राम्रो आम्दानी गर्न सके पनि कतिपयले भने रोगका कारण अपेक्षा अनुसारको आम्दानी लिन नसकेको बताउँदै आएका छन् । रोप्लाका मगर पनि मल र बीउलगायत विभिन्न समस्या तथा सरकारी नीतिका कारण अपेक्षाअनुसारको आम्दानी नभएको बताउनुहुन्छ ।रासस