प्रसाही–थलही जोड्ने सडकको निर्माण सुरु भएको छ । सप्तरीको विष्णुपुर गाउँपालिका–१ स्थित प्रसाही–थलही जोड्ने सडक निर्माण गर्ने उद्देश्यले एक समाहोरबीच शिलान्यास गरिएको छ । करिब एक हजार पाँच सय मिटर लम्बाइ र छ मिटर चौडाइको सडक बन्ने इञ्जिनियर रामचन्द्र दासले जानकारी दिनुभयो । अठार महिनाभित्रै तयार हुने लक्ष्य लिएको सडकको शिलान्यास गाउँपालिका अध्यक्ष उमेशप्रसाद यादवले गर्नुभएको थियो । सडक निर्माण भएपछि गाउँपालिकाका बासिन्दा मात्र नभई सदरमुकाम राजविराज र आसपासका जनता लाभान्वित हुने उहाँले विश्वास व्यक्त गर्नुभयो । यादवले भन्नुभयो, “बजेट छरेर रकम सिध्याउनुभन्दा हरेक वर्ष एउटा अत्यावश्यक विषयमा पुग्ने गरी बजेट विनियोजन गर्ने सोचअनुसार यस वर्ष गाउँपालिकाले सडक निर्माणमा ठूलो रकम छुट्याएको छ ।” सङ्घीय सरकारको रु एक करोड ६० लाख र गाउँपालिकाको रु एक करोड ६० गरी कूल तीन करोड २० लाखको लगानीमा निर्माण हुन लागेको सडक नालासहित कालोपत्रे हुने गाउँपालिकाले जनाएको छ । उक्त सडक निर्माण कार्यको ठेक्का काठमाडौँस्थित अन्सुमन अधिकारी जेभी कम्पनीले पाएको प्रमुख प्रशासकीय अधिकृत रमेशप्रसाद यादवले जानकारी दिनुभयो । वडाध्यक्ष बलराम यादवको अध्यक्षतामा प्रसाही–थलही जोड्ने सडकको शिलान्यास गरिएको जनाइएको छ ।रासस