काठमाडौँ महानगरपालिका–२७ स्थित जमल क्षेत्रमा हप्तौँदेखि चुहावट भइरहेको खानेपानीको पाइप मर्मत हुन सकेको छैन । सडकमा चुहावट भएको खानेपानीको पाइप मर्मत नहुँदा राजधानीको मुख्य सहरी क्षेत्रमा बसोबस गर्नेले भने पिउनसमेत पानी पाएका छैनन् । जमलको नेपाल चेम्बर अफ कमर्स र नबिल बैंकअघि पाइप फुटेर पानी बगिरहेको छ तर सरोकार भएका निकायले बनाउन ध्यान नदिएको महानगरपालिका–२७ का अध्यक्ष गोगेशकुमार खड्गीले राससलाई जानकारी दिनुभयो । मेलम्चीको पानी तेस्रोपटक राजधानी आएको दुई महिना पूरा भए पनि काठमाडौँवासी भने धारामा हावामात्र आउने गरेको गुनासो गर्छन् । खानेपानीको पाइप ठाउँठाउँमा चुहावट भएका कारण पनि राजधानीवासीको घरको धारामा पानी पुग्न सकेको छैन । खानेपानी समस्याका बारेमा काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) लाई जति पटक भने पनि समस्या समाधान नभएको वडा अध्यक्ष खड्गीको गुनासो छ । वडाको भम्लुटोल र त्यौडस्थित तरकारी बजार चोकमा पानी नआउने गरेको उहाँले सुनाउनुभयो । राजधानीको मुख्य सहर महाँकालचौर शाखाको पानी आउने अन्तिम बिन्दु हो । अन्तिम बिन्दु भएकाले पनि यहाँ पानी आइपुग्न गाह्रो छ । विगतमा महाराजगञ्ज शाखाबाट पनि मुख्य सहरी क्षेत्रमा पानीको पाइप ल्याइएको थियो । डेढ दशकअघिदेखि महाराजगञ्ज शाखाको पाइपबाट पानी बन्द गरिएको छ । दुईतिरबाट पानी छोड्दा दबाबले पानी आउने गरे पनि महाराजगञ्जको पानी बन्द गरेपछि खानेपानीको समस्या भोग्न मुख्य सहरी क्षेत्रका स्थानीयवासी बाध्य छन् ।रासस