पशु जन्य उत्पादनमा तनहुँ आत्मनिर्भर भएको छ । सहज यातायात पहुँचका कारण यस जिल्लाबाट उत्पादित अण्डा, कुखुरा र दूध अन्य जिल्लामा समेत निर्यात हुँदै आएको भेटेरिनरी अस्प्ताल तथा पशु सेवा विज्ञ केन्द्रले जनाएको छ । तनहुँमा आर्थिक वर्ष २०७८÷७९ मा २ करोड ७० लाख ६० हजार ८ सय अण्डा उत्पादन भएको थियो । उत्पादित उक्त सङ्ख्या तनहुँवासीलाई प्रतिव्यक्ति प्रतिवर्ष ८२ दशमलव ५९ वटा अण्डा पर्न जान्छ । उक्त सङ्ख्या मापदण्ड भन्दा प्रतिव्यक्ति प्रतिवर्ष ३४ दशमलव ५९ ले बढी हो । विश्व खाद्य तथा कृषि सङ्गठनले प्रतिव्यक्ति प्रति बर्ष ४८ वटा अण्डा खपत दर तोकेको छ । आव २०७७÷७८ मा जिल्लामा दुई करोड ५९ लाख ९५ हजार वटा अण्डा उत्पादन भएको केन्द्रको तथ्याङ्कमा उल्लेख छ । जिल्लामा कुखुराको अण्डाको अलावा हाँसको दुई लाख ९५ हजार, बट्टाईको एक लाख ५० हजार, कालिजको आठ हजार र टर्कीको दुई हजार अण्डा उत्पादन भएको केन्द्रले जनाएको छ । चालू यस आवमा पनि अण्डाको उत्पादन राम्रो भएकाले यस आवमा अण्डाको उत्पादन बढ्ने आंकलन गरिएको केन्द्रले जनाएको छ । जिल्लाको व्यास, भानु र शुक्लागण्डकी नगरपालिका अण्डा उत्पादन पकेट क्षेत्र रहेको केन्द्रका प्रमुख वरिष्ठ पशु विकास अधिकृत डा. बालकुमार श्रेष्ठले बताउनुभयो । जिल्लामा उत्पादित अण्डामा आत्मनिर्भर भएको करिब पाँच वर्ष भएको उहाँले जानकारी दिनुभयो । तनहुँबाट उत्पादित अण्डा काठमाडौं, कास्की र स्याङ्जामा समेत खपत हुने गरेको छ ।रासस