तेक्वान्दोको राष्ट्रिय प्रतियोगितामा लागतार पाँच स्वर्ण पदक जितेर ‘नेपाल टप’को सफलतासँगै चर्चा कमाउनुभएका ‘गोविन्द गुरु’ अर्थात् गोविन्द बिष्ट हाल गुमनाम हुनुहुन्छ । तीन दशकअघिसम्म खेलप्रेमी माझ सुदूरपश्चिम र खासगरी धनगढीमा तेक्वान्दोका गोविन्द गुरुका नामबाट चिनिनु हुने उहाँ पछिल्ला वर्षमा तेक्वान्दो खेलका गतिविधि सुस्ताएसँगै चर्चा पनि हुन छाडेको हो । विसं २०४४ देखि २०४६ सम्म भएका राष्ट्रिय प्रतियोगितामा सेती अञ्चलको टोलीबाट प्रतिस्पर्धा गर्नुभएका उहाँले ५० केजी तौल समूहको फिनवेट विधामा पाँच पटकसम्म स्वर्ण पदक जितेर ‘नेपाल टप’ खेलाडीको पहिचान बनाउन सफल हुनुभएको थियो । विसं २०५२ देखि उहाँ जिल्ला खेलकुद विकास समिति कैलालीमा तेक्वान्दोको प्रशिक्षकका रुपमा कार्यरत हुनुहुन्छ । “खेल क्षेत्रको विकासमा राज्यले उचित ध्यान नदिँदा खेलाडी र प्रशिक्षकमा उत्साह देखिँदैन, प्रशिक्षकको वृत्ति विकासमा समेत उचित ध्यान दिइएको छैन”, धनगढी उपमहानगरपालिका निवासी उहाँले भन्नुभयो, “खेलकुदका गतिविधि अपेक्षित रुपमा बढ्न नसक्दा धेरै खेलका गतिविधि सुस्ताएका छन् ।” उहाँ खेलाडीलाई नियमित प्रशिक्षण दिइरहनुहुन्छ । “कार्यालयमा प्रशिक्षण दिने कामबाहेक खेलकुदका अन्य गतिविधि केही छैनन्”, उहाँले थप्नुभयो, “खेल सामग्री नभएर जसोतसो सिकाउँदैछु, तेक्वान्दो खेलाउने तरिका एवं विधा आफ्नो छुट्टै हुँदा खेलाडी सन्तुष्ट नै छन् ।रासस