गण्डकी प्रदेशसभाको आजको बैठकमा सडक, स्वास्थ्यका क्षेत्रमा भइरहेका ढिलासुस्ती एवम् प्राकृतिक प्रकोपका असर लगायतमा प्रदेशसभा तथा सरकारको ध्यानाकर्षण गराइएको छ । शून्य समयमा प्रदेशसभा सदस्य दीपेन्द्रबहादुर थापाले मध्यपहाडी लोकमार्गअन्तर्गत अक्षेते घोडाघोडी खण्डमा ढिलाइ भइरहेको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभयो । प्रदेशसभा सदस्य देवका पहारी त्रिपाठीले माघ १ गतेको जहाज दुर्घटनाले पोखराको पर्यटनमा असर पारेको बताउँदै यसले हवाई उडानमा मनोवैज्ञानिक असर परेको बताउनुभयो । पर्यटक आगमनलाई बढाउन अन्तरप्रदेश पर्यटन प्रवद्र्धनात्मक कामलाई अघि बढाउनु आवश्यक देखिएको बताउँदै उहाँले छिमेकी मुलुक भारत, चीन र बङ्गलादेशमा राष्ट्रियस्तरको प्रवद्र्धनात्मक कार्यक्रम हुनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य नन्दकला दमै नेपालीले पोखरा महानगरपालिका–२६ पैतेडाँडाको सुकुम्वासी बस्तीमा बर्सेनि बाढीले असर गरिरहेको बताउँदै त्यहाँको बस्ती सुरक्षाका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । अर्का सदस्य निर्मला थापाले बढ्दो आर्थिक मन्दीको समस्यामा गरिबीको रेखामुनि रहेको वर्गलाई उद्यमशीलताका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य पद्मा जिसी श्रेष्ठले नवलपुरको नारायणी तट क्षेत्रमा माझी, बोटे मुसहरको मुख्य पेसा माछा मार्ने रहे पनि राष्ट्रिय निकुञ्जका कारण माछा मार्न रोक लगाउँदा उनीहरू समस्यामा परेको बताउनुभयो ।रासस