शुक्लाफाँटा नगरपालिकाका विपन्न परिवारका घरका खरका छाना विस्थापित गर्ने कार्य अगाडि बढाइएको छ । नगरपालिकाका सूचना अधिकारी मोहन फुलाराका अनुसार सहरी विकास विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाइ धनगढीले कार्यक्रम अन्तर्गत छाना फेर्नका लागि निवेदन दिएका दुई सय ७६ मध्ये दुई सय ५७ परिवार छनोट गरेको छ । घरको छानामा पराल, खर, स्याउला, टायललगायतका आगो, पानी तथा हावाहुरीबाट सहजै प्रभावित हुनसक्ने परिवार कार्यक्रम अन्तर्गत छनोटमा परेका छन । गत आवमा छनोटमा परेकामध्ये पहिलो चरणमा एक सय ११ जनाले पहिलो किस्ताको रकम पाएका छन् । दोस्रो किस्ताको रकम ५५ परिवारलाई उपलव्ध गराइएको छ । छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका ८९ परिवारलाई चालु आवमा छाना फेर्न पहिलो किस्ताको रकम उपलव्ध गराउने काम भइरहेको सूचना अधिकारी फुलाराले बताउनुभयो । “छनोटमा परेका परिवारलाई घरको छानामा जस्तापाता राख्नका लागि गत आवमा पहिलो किस्ताका रुपमा रु ३० हजार रकम बैंक खातामा उपलव्ध गरायौं,” उहाँले भन्नुभयो, “छनोटमा परेका पहिलो किस्ताको रकम पाउन नसकेका परिवारलाई चालु आवमा रकम उपलव्ध गराउने कार्य भइरहेको छ ।” उहाँका अनुसार पहिलो किस्ताको रकम पाएका लाभग्राहीले प्राप्त गरेको रकमबाट छाना बनाउनका लागि रङ्गीन जस्तापाता २६ गेजको र काठ खरिद गर्नुपर्ने छ । आवास निर्माण गर्न अधिकतम रु ५० हजारसम्म रकम उपलव्ध गरााउने व्यवस्था छ । रु २० हजार दोस्रो किस्तामा दिईने छ । रकम प्राप्त गरेको तीन महिनाभित्र घर निर्माणको कार्य गरी सक्नुपर्ने प्रावधान छ । आवास निर्माण नगरे स्थानीय तहले सावाँ र ब्याज असूल उपर गर्ने छ ।रासस