काठमाडौँ, २४ माघ (रासस) : आयोजना सम्पन्न गर्ने लक्षित समय दुई वर्ष बाँकी हुँदा कालीगण्डकी करिडोर आधाभन्दा कम मात्रै सकिएकोे छ । राष्ट्रिय गौरवको सो सडक आयोजना भौगोलिक विकटता, वन क्षेत्रको प्रक्रियागत झन्झट, बजेट अपर्याप्तता, निर्माण व्यवसायीको ढिलाइलगायतका कारण अपेक्षाकृत प्रगति हुन नसकेको हो । आर्थिक वर्ष २०८१÷८२ मा सम्पन्न गर्ने लक्ष्य लिइएकोमा हालको गतिमा काम गर्दा सो अवधि नसकिने देखिएको योजना कार्यालय र आयोजना निर्देशनालयले जनाएका छन् । गैँडाकोटदेखि माथि राम्दीसम्मको खण्डमा वन क्षेत्रका कारण निर्माणाधीन भए पनि अरु खण्डमा सम्पन्न भइसकेको आयोजना प्रमुख श्यामबहादुर खड्काले बताउनुभयो । सो खण्ड ऋण सहयोगमा सडक निर्माण भएको हो । वन क्षेत्रको समस्याका कारण अवरुद्ध सडक हालका लागि कम चौडाइमा कालोपत्र हुने र चौडाइ उपलब्ध भए पनि राजमार्गको स्तरमा निर्माण गरिने योजना रहेको छ । हाल सात मिटर चौडाइ पाइने हुँदा त्यतिमै अघि बढाइने गरी तयारी भइरहेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “रुख कटानका लागि प्रक्रिया अघि बढिरहेको छ र त्यो सकिएपछि अरुतिर जतिकै चौडाइमा कालोपत्र गरिनेछ ।” गैँडाकोटबाट राम्दीसम्म एक सय १६ किमी लम्बाइको खण्ड तल्लो क्षेत्रमा कालोपत्र भइसकेको र माथि २९ किमी मालढुङ्गाबाट जोमसोमसम्मको खण्डमा कालोपत्र भइसकेको आयोजनाले जनाएको छ । राम्दीबाट मालढुङ्गासम्मको खण्डमा सडक निर्माणका लागि सम्झौता भइसकेको र निर्माण कम्पनीले काम सुरु गरिसकेको आयोजना प्रमुख खड्काले बताउनुभयो ।रासस