‘जहाँ ढुङ्गा ढुङ्गामा देवताको बास छ’ भनेर ओम गुरुङले गाएको गीत सुनिएकै हो । तर त्यसको भाव बुझ्न नेपालको गौरवपूर्ण विगत पढ्नुपर्छ या त त्यो पढेका, बुझेका मान्छेहरुको कुरा सुन्नुुपर्छ । वैदिक सभ्यताको जननी, ऋषि–महर्षि आदि पुण्यात्माको तपस्यास्थल भनेर वर्णन गरिएको देवभूमि, अलौकिक धार्मिक आस्थाको पुञ्ज नेपाल बुझ्ने हरेक धार्मिक मान्छेले यहाँका ढुङ्गा ढुङ्गामा देवताको बास देख्छन् र प्रकृतिपे्रमीले यहाँका थङ्गाथुङ्गामा स्वर्गको आभाष गर्छन् । तर ‘नजिकको तीर्थ हेला’ भनेजस्तै हामी नेपाली स्वयम्ले भने जानेर वा नजानेर यहाँको अनुपम महिमालाई नजरअन्दाज गरिरहेका हुन्छौँ । यस्तै आभाष भयो नेपालको कालीगण्डकी नदीबाट भारतउत्तर प्रदेशको ऐतिहासिक धार्मिकस्थल भगवान् रामको जन्मभूमि अयोध्या लगिएको शिलायात्रामा सहभागी हुँदा । “कालीगण्डकी नदीको शिलामा भगवान् रामको बालस्वरुप बनाएर उहाँको जन्मभूमि अयोध्यामा निर्माणाधीन राम मन्दिरको केन्द्रमा राख्ने विषय हामी सबै नेपालीका लागि ऐतिहासिक महत्वको हुने नै भयो”, नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सचिव रामजी दाहालले भन्नुभयो, “तर त्यसको धार्मिक महत्व कति रहेछ भन्ने कुरा भारतीय सीमा प्रवेशपछि मात्रै अझ बढी थाहा भयो ।” उहाँले कालीगण्डकीको शिलालाई देवशिलाका रुपमा भारतीय पक्ष र विशेषगरी त्यहाँका हिन्दू धर्मावलम्बीहरुबाट व्यक्त श्रद्धाबाट आफू आश्चर्यचकित भएको बताउनुभयो ।रासस