नेपाल विद्युत् प्राधिकरणको बक्यौता रकम बरहथवा नगरपालिकाले चुक्ता गरिदिने भएपछि बरहथवा नगरपालिका–११ स्थित हिरापुर बस्तीमा बिजुली मिटर वितरण सुरु गरिएको छ । बरहथवा–११ का वडाअध्यक्ष नवराज राईले प्राधिकरणको रु १५ लाख ७३ हजार चार सय बक्यौता रकम नगरपालिकाले चुक्ता गरिदिने प्रतिबद्धता जनाएपछि बिजुली मिटर वितरण सुरु गरिएको जानकारी दिननुभयो । उहाँले भन्नुभयो, “अब प्रत्येकको घरमा व्यक्तिगत मिटर जडान गरिएको छ ।” स्थानीय विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाले बिलअनुसार विद्युत् प्राधिकरणलाई रकम नबुझाएपछि गत मङ्सिर २७ गतेदेखि हिरापुरको बिजुली लाइन काटेको थियो । प्राधिकरणले लाइन काटेपछि स्थानीयवासी दुई महिनाभन्दा बढी रातको समय टुकी बाल्न बाध्य थिए । स्थानीयवासीले विसं २०६७ देखि ग्रामीण विद्युत् सहकारीमार्फत बिजुली बाल्दै आएका थिए । सहकारीले उपभोक्ताले विद्युत् खपत बापतको बिल रकम सङ्कलन गरे पनि प्राधिकरणमा नबुझाएको स्थानीयवासीको गुनासो छ । संस्थाका पदाधिकारीले उपभोक्तासँग लिएको रकम प्राधिकरणमा नबुझाई अपचलन गरेको ठम्याइ गाउँलेको छ । विश्वेश्वरनाथ सामुदायिक ग्रामीण विद्युत् सहकारी संस्थाका उपाध्यक्ष तुलसीप्रसाद चालिसेले स्थानीय उपभोक्ताले सव–मिटरमा उठेको बिजुली बिल नतिर्दा संस्थाले विद्युत् बक्यौता तिर्न नसकेको बताउनुभयो । विद्युत् सुचारु भएपछि बरहथवा–११ को वडा कार्यालयसमेत उज्यालो बनेको छ । वडा कार्यलयको सम्पूर्ण काम कारबाही अनलाइन प्रविधिमा पुनः जोडिएको वडा सचिव दीपेन्द्र रायले जानकारी दिनुभयो ।रासस