गणतन्त्र ल्याइम भन्छन् फालिम भन्छन् राजा । त्यही फालेका राजा जस्ता कैयु निस्के आज ।। लोकगायक पशुपति शर्माले ‘लुटन सके लुट कान्छा लुटन सके लुट, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीत गाएपछि सबै दर्शकले हात उठाए । सबैले वर्तमान समयको यथार्थतासम्बन्धी गीत गाएको भन्दै पशुपतिलाई वाह वाह पनि गरे । अर्घाखाँचीको सन्धिखर्कमा जारी पाँचाँै महोत्सवमा उपस्थित दर्शक सामु उहाँले यो गीत गाउनुभएको हो । उहाँले भन्नुभयो, ‘नेपाल आमा की”, उपस्थित दर्शकले भने, ‘जय’ । पशुपतिले भन्नुभयो, ‘देश लुट्न दर्शकले भने पाइँदैन, पाइँदैन ।’ नेपालमा हजाराँै जनाको बलिदानीपछि लोकतन्त्र आए पनि जनताको पक्षमा केही काम हुन नसकेको गायक शर्माले बताउनुभयो । भ्रष्टाचार, अनियमितता बढेको देशमा देखिने र जनताले महसुस गर्ने गरी विकासका योजना अगाडि बढ्न नसकेको गायक शर्माको भनाइ छ । विदेशबाट फर्किएर नेपालमा केही गराँै भनेर योजना थालेका दाजुभाइको पक्षमा ‘मलाई अमेरिका यहीँ, मलाई जापान पनि यहीँ, मलाई अष्ट्रेलिया यहीँ’ गीत गाउनुभएको थियो । उहाँले भन्नुभयो, “तर यो गीतमा मात्र सीमित भयो । सरकारले उचित, दीर्घकालीन विकास र आर्थिक समृद्धिका कार्यक्रम नल्याउँदा युवाको विदेश पलायन रोकिएन ।” महोत्सवको अवलोकन गर्न मञ्चमा बस्नुभएका नेकपा (एमाले)का केन्द्रीय सचिव टोपबहादुर रायमाझीलाई लोकगायक पशुपतिले ‘नेताज्यू गोरुसिङ्गे–सन्धिखर्क सडक कहिले मर्मत हुन्छ ? अहिलेसम्म बाटो किन बनाउनुभएन ?’ भनेर पनि प्रश्न गर्नुभयो ।रासस