काठमाडौँको चक्रपथभित्र विद्युतीय बस सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लगानी बोर्डको कार्यालयले दोस्रोपटक आयशपत्र माग गरेको छ । चक्रपथ विद्युतीय बस ¥यापिड ट्रान्जिट (इबीआरटी) आयोजनाको विकास, सञ्चालन र व्यवस्थापनका लागि सम्भाव्यता अध्ययन गर्न यसअघि आह्वान गरिएको आशयपत्र रद्द गर्दै लगानी बोर्डको कार्यालयले दोस्रोपटक आशयपत्र माग गरेको हो । उक्त आयोजनाको सम्भाव्यता अध्ययनका लागि यसअघि गत मङ्सिर २६ गतेसम्म आशयपत्र पेस गरिसक्ने गरी ३५ दिने सूचना जारी भएको थियो । त्यो बेला माग गरिएको आशयपत्रमा केही कम्पनीले भौतिक रुपमा प्रस्ताव हालेपछि दोस्रोपटक आशयपत्र मागको सूचना जारी गरिएको लगानी बोर्डको कार्यालयले जनाएको छ । लगानी बोर्डले जारी गरेको आशयपत्रसम्बन्धी सूचना सार्वजनिक खरिद निर्देशिकामा भएको व्यवस्थाभन्दा फरक परेपछि रद्द गर्नुपरेको लगानी बोर्डका इञ्जिनीयर निशा त्रिपाठीले जानकारी दिनुभयो । “अघिल्लो सूचनाका आधारमा केही प्रस्तावकले प्रस्तावको हार्ड कपि दर्ता गराउन ल्याए । लगानी बोर्डले दर्ता पनि ग¥यो । तर मूल्याङ्कन समितिले त्यसलाई विद्यमान कानुन र सार्वजनिक खरिद निर्देशिका बमोजिम भएन भनेपछि दोस्रोपटक आशयपत्र माग गरिएको हो”, इञ्जिनीयर त्रिपाठीले भन्नुभयो । विद्युतीय माध्याम (इ–बिडिङ) बाट आशयपत्र माग भएकाले प्रस्ताव पनि विद्युतीय माध्यमबाटै आउनुपर्ने भन्दै अघिल्लो प्रस्ताव रद्द गरेर नयाँ प्रस्ताव आह्वान गरिएको उहाँको भनाइ छ ।रासस