विराटनगर महानगरपालिकाले विराटनगरवासीमा जागरुकता ल्याउन सडक नाटक मञ्चन गरेको छ । महानगरपालिकाले राजस्वको दायरा फराकिलो पार्नेदेखि विभिन्न काम कारबाहीका बारेमा सुसूचित गराउने उद्देश्यले मङ्सिरदेखि रचनात्मक अभियानको थालनी गरेको हो । न्यायमा विराटनगरवासीको पहुँच सुनिश्चित गराउनका लागि विराटनगर–९ को महावीर चोकमा आज सडक नाटकको मञ्चन गरियो । सडक नाटकको माध्यमबाट घरको साँध सीमाना मिच्नेदेखि घरेलु हिंसासम्मका घटना घटे न्यायका लागि महानगरपालिकाअन्तर्गतको न्यायिक समितिमा उजुरी दर्ता गर्न/गराउन भनी सन्देश प्रवाह गरियो । सडक नाटकप्रति विराटनगरवासीको उत्साह थियो । महानगरपालिकाअन्तर्गतको कानुन तथा न्याय शाखाकी प्रमुख शारदा थपलियाले आरोहण गुरुकुलका कलाकारको समन्वयमा विराटनगरवासीमा जागरण ल्याउन र न्यायमा पहुँच वृद्धिका लागि सचेतनामूलक सडक नाटकको मञ्चन गरिएको बताउनुभयो । उहाँले स्थानीय मैथिली भाषामा नाटक मञ्चन गरिएकाले स्थानीयवासीमा महानगरप्रति अपनत्वको भावना विकास भएको बताउनुभयो । शाखाकी सहायक पाँचाँै तहकी कर्मचारी सुनिता पौडेलले नगरक्षेत्रभित्रको दुर्गम र जातिगत रूपमा पिछडिएको स्थानमा बसोबास गर्ने स्थानीयवासीलाई न्यायका लागि अदालत नै पुग्नुपर्ने र खर्च ज्यादा हुने भन्ने धारणा बसेको बताउनुभयो । उहाँले न्यायिक समितिले के–के काम गर्छ, अधिकार के हो, कस्तो–कस्तो घटनामा न्याय पाइन्छ भन्ने जानकारी दिन सडक नाटकको मञ्चन गरिएको बताउनुभयो । उहाँले नाटक हेर्न मानिसको भीड पनि लाग्ने अनि न्यायिक समितिले निःशुल्क सेवा प्रवाह गर्ने सन्देश जाने बताउनुभयो। रासस
