शुक्लाफाँटा नगरपालिका-१२ स्थित दोदा नदीबाट बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि वडा कार्यालयले निगरानी बढाएको छ । नदीबाट रातको समयमा बालुवा अबैध रुपमा उत्खनन् हुन थालेपछि निगरानी बढाइएको हो । बालुवाको जथाभावी उत्खनन् हुन थालेपछि प्रहरीसँगको समन्वयमा विशेष गरी राति दुई बजेदेखि चार बजेसम्म निगरानी बढाइएको वडा अध्यक्ष नवलसिंह रानाले बताउनुभयो । “धेरै पटक अबैध रुपमा बालुवा उत्खनन् गरेको पाइएपछि प्रहरीलाई खबर गरी बालुवा उत्खनन् रोकेका छौँ”, उहाँले भन्नुभयो, “दिउँसो बालुवा उत्खनन् गर्न नपाइने भएपछि रातको समयमा बालुवा उत्खनन्को हुन थालेको छ ।” उहाँका अनुसार अबैध रुपमा बालुवा उत्खनन् हुँदा भू–क्षय हुनबाट जोगाउन नदीमा लाखौँ रकम खर्चेर निर्माण गरिएको तटबन्ध जोखिममा परेको छ । नदी गहिरिँदै गएपछि तटबन्ध भत्कने अवस्थामा पुगेको छ । जथाभावी बालुवा उठाइदा नदीको गहिराई दुई फिट बढेको अध्यक्ष रानाको भनाइ छ । “वातावरणीय प्रभाव मूल्याङ्कन गरी नदीको बालुवा वैधानिक रुपमा उत्खननका लागि ठेक्का प्रक्रियामा जानुपर्छ”, अध्यक्ष रानाले भन्नुभयो, “यसबारे नगरपालिकामा कुरा उठाएका छौँ, अहिलेसम्म सुनवाइ भएको छैन ।” अबैध रुपमा बालुवा उठाएर लैजादा नगरपालिकालाई लाखौ रकम बराबरको राजस्व गुमेको छ ।रासस