खेतीको ठिक्क समयमा रासायनिक मल, बीउ र किरा नियन्त्रण गर्ने विषादी बजारमा नपाउँदा दिक्क भएका यहाँका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ फर्कंदैछन् । केही दशकअघि स्थानीय साधनस्रोतको प्रयोगले गरिने खेती दिगो हुने निष्कर्षसाथ जिल्लाको उत्तरी क्षेत्रका किसान परम्परागत प्राङ्गारिक खेतीतर्फ चासो बढाउन थालेका हुन् । बर्दिबास नगरपालिका–९ पशुपतिनगरका तरकारी उत्पादक किसान रामविनोद महतोले पाँच वर्षयता रासायनिक मल, किरा नियन्त्रण गर्ने विषादी र भारतीय बीउ प्रयोग गर्न छाड्नुभयो । “मल, बीउ र किरा नियन्त्रणका औषधि आफैँ बनाउँछु”, महतो भन्नुहुन्छ, “आफैँले उत्पादन गरेको बीउबाट उत्पादित फसल पौष्टिक, प्राकृतिक स्वादको र सुपाच्य हुन्छ ।” प्राङ्गारिक खेतीपछि आफ्नो उत्पादन उपभोक्ताको पहिलो रोजाइमा पर्ने गरेको उहाँको भनाइ छ । तरकारी, तेलहन र उखुलगायतका नगदेबाली लगाइने जिल्लाको उत्तरी क्षेत्रका गाउँ÷नगर बस्तीमा परम्परागत खनजोत र प्राङ्गारिक मलको प्रयोगबाट प्रशस्त उत्पादन हुन थालेको किसानको भनाइ छ । हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पर्न थालेपछि सोको प्रयोग छाडिएको भङ्गाहा–४ रामनगरका किसान नारायण दाहाल बताउनुहुन्छ । दाहालले वरपर पाइने वनस्पति र गाईको गहुँतबाट बालीमा लाग्ने किरा नियन्त्रणका औषधि बनाउनुहुन्छ ।रासस