उपप्रधानमन्त्री तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र एशियन इन्फ्रास्ट्रक्चर इन्भेष्टमेन्ट बैंकबीच नेपालमा पूर्वाधारका क्षेत्रमा लगानी गर्ने विषयमा छलफल भएको छ । बैंकले पूर्वाधारको क्षेत्रमा लगानी गर्न चासो देखाएपछि छलफल गरिएको मन्त्रालयले जनाएको छ । बैंकका प्रतिनिधिले उपयुक्त परियोजनाको छनोट गरेर लगानी गर्ने बताएका छन् । भेटमा उपप्रधानमन्त्री श्रेष्ठले बैंकको अनुदानमा पूर्वाधार निर्माणको सम्भावनाका विषयमा जिज्ञासा राख्नुभएको थियो । उहाँले बैंकका प्रतिनिधिसमक्ष सरकारको लक्षित योजनामा लगानी गर्न आग्रह गर्नुभएको थियो । बैठकमा मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक अर्जुनजङ्ग थापा, सहसचिव शिव नेपाललगायत सहभागी हुनुहुन्थ्यो ।