पूर्वी नवलपरासीमा यस वर्ष नगदे बालीकोे रूपमा रहेको तोरीको उत्पादन बढ्ने भएको छ । यस वर्ष मल तथा बीउको अभाव, सिँचाइको समस्या तथा रोग र कीराको प्रकोप घटेको र मौसम अनुकूल भएको हुँदा तोरी उत्पादन बढ्ने देखिएको कृषि ज्ञान केन्द्र पूर्वी नवलपरासीका सूचना अधिकारी शङ्कर पौडेलले बताउनुभयो । विगतका केही वर्षमा निरन्तर तोरीको उत्पादनमा कमी आए पनि यस वर्ष उत्पादन बढ्ने भएपछि तोरीखेती गर्ने किसानसमेत खुसी भएका छन् । उहाँका अनुसार जिल्लामा यस वर्ष एक हजार एक सय ८५ हेक्टर जमिनमा तोरीखेती गरिएकामा एक हजार दुई सय ८५ मेट्रिक टन तोरी उत्पादन हुने अनुमान छ । गत वर्ष जिल्लामा एक हजार एक सय ३५ हेक्टर जमिनमा एक हजार दुई सय ३७ मेट्रिक टन तोरी उत्पादन भएको थियो । तोरीखेतीका लागि पकेट क्षेत्र मानिएका स्थानीय तहहरू कावासोती, मध्यविन्दु, देवचुली र गैँडाकोटमा तोरी उत्पादन बढ्ने देखिएको हो । विषेशगरेर चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रका बस्तीमा हिउँदे खेतीका रूपमा गरिने गहुँखेती गैँडालगायतका वन्यजन्तुले नष्ट पार्ने क्रम केही वर्षयता बढेसँगै किसान तोरीखेतीतर्फ आकर्षित भएका हुन् । पछिल्लो समय तेलको मूल्य दोब्बरको हाराहारीमा वृद्धि भएसँगै किसानले घरायासी प्रयोगका लागि तोरीखेती गर्न लागेका सूचना अधिकारी पौडेलले बताउनुभयो । तेलसँगै किसानले उत्पादन गरेको तोरीको मूल्य पनि बढेको र वन्यजन्तुले पनि कम क्षति पु¥याउने भएकाले तोरीखेती गर्ने किसानको सङ्ख्या बढेको सूचना अधिकारी पौडेल बताउनुहुन्छ ।रासस