गोल्डेन एथलेटिक्स मिट प्रतियोगितामा पुलिसका तेजबहादुर कार्की र लुम्बिनी प्रदेशकी निशा चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका छन् । एथलेटिक्स परिवार नेपालद्वारा आयोजित प्रतियोगितामा कार्की र चौधरी सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । त्रिपुरेवरस्थित दशरथ रङ्गशालाको प्राङ्गनमा आज सम्पन्न प्रतियोगिताको पाँच हजार मिटर पुरुष दौडमा एपीएफका सञ्जीव नेपाली पहिलो भए । उनले निर्धारित दुरी १५ मिनेट ५३ दशमलव ३ सेकेन्डमा पूरा गरे । पुलिसका सन्तोष नाथ योगी १५ मिनेट ५६ दशमलव ६ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै प्रकाश सिंह १६ मिनेट २ सेकेन्डको समयको साथ तेस्रो भए । महिला पाँच हजार मिटर दौडमा धादिङकी सन्तोषी श्रेष्ठ पहिलो बनिन् । उनले निर्धारित दुरी १७ मिनेट ३७ सेकेन्डमा पार गरिन् । पुलिसकी राममाया बुढा १८ मिनेट ४४ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकै रेखा विष्ट १८ मिनेट ४५ सेकेन्डको समय निकाल्दै तेस्रो भइन् । पुरुष दुई समय मिटर दौडमा एपीएफका शिवराज पार्कीले २२ दशमलव ३७ सेकेन्डको समय निकाल्दै पहिलो बने । एपीएफकै निर प्रताप महतोले २२ दशमलव ८१ सेकेन्डको समयमा दोस्रो र काठमाडौँका अरुण महतो २३ दशमलव ५ सेकेन्डको समय खर्चँदै तेस्रो बने । सोही स्पर्धाको महिलातर्फ दाङकी निशा चौधरी २५ दशमलव ७१ सेकेन्डको समय निकाल्दै पहिलो बनिन् । एपीएफकी रमीताकुमारी थारुले २६ दशमलव ७२ सेकेन्डको समय निकाल्दै दोस्रो र पुलिसकी लक्ष्मी साउदले २८ दशमलव ४६ सेकेन्डको समय निकाल्दै तेस्रो बनिन् ।रासस