नेकपा (एमाले) को केन्द्रीय कृषि तथा पशुपन्छी विभागले कृषि क्षेत्रमा सरकारले तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बारेमा दृष्टिकोसहितको खाका तयार गरी सम्बन्धित मन्त्रालयलाई बुझाउको छ । उक्त खाकालाई विभागले पार्टी नेतृत्व र नेपाल सरकारका कृषि तथा पशुपंक्षी विकासमन्त्री ज्वालाकुमारी साहलाई बुझाएको छ । सो पार्टीका अध्यक्ष केपी शर्मा ओली, महासचिव शङ्कर पोखरेल र मन्त्री साहको उपस्थितिमा विभागका प्रमुख गिरधारीलाल न्यौपानेको अध्यक्षतामा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आज सम्पन्न बैठकले चितवनका तरकारी उत्पादक, काठमाडौँ, रामकोटलगायत देशभरका किसानले गरेकोे आन्दोलनप्रति गम्भीर ध्यानाकर्षण गराएको छ । ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा पूरा गर्न कृषि क्षेत्रको महत्वपूर्ण भूमिका रहेकाले सोहीअनुसार विभागले कार्यक्रमको निर्माण र नीतिगत सुधारका लागि सरकारको ध्यानाकर्षण गराएको एमालेका केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो । विभागले मलको सहज आपूर्तिको सुनिश्चितता, वनस्पति र कुहिने फोहरबाट उत्पादन गर्न सकिने आधुनिक कम्पोस्ट प्लान्ट उत्पादन केन्द्रहरू स्थापना गरी रासायनिक मलको वैकल्पिक व्यवस्था, किसानको पहिचान, वर्गीकरण र सूचीकरण गरी परिचयपत्रको व्यवस्था, उत्पादित कृषि उपजको समर्थन मूल्य निर्धारण र बजारीकरणको सहज व्यवस्था र कृषि बालीमा खुला पशु तथा वन्यजन्तुको आक्रमणको समस्यालाई दीर्घकालीन व्यवस्थापन गर्न सुझाव दिएको छ ।रासस