यहाँको नापी कार्यालयमा सञ्चालन गरिएको ‘मेरो कित्ता’ कार्यक्रम प्रभावहीन बनेको छ । नागरिकलाई सहज तरिकाले सेवा उपलब्ध गराउने उद्देश्यले धुलिखेलस्थित नापी कार्यालयले गत चैत २२ देखि डिजिटल प्रविधिको प्रयोग गर्दै ‘मेरो कित्ता’ कार्यक्रम सुरु गरेको थियो । उक्त कार्यक्रमअन्तर्गत डिजिटल नक्सा घरमै बसेर प्राप्त गर्न सकिने छ । तर दश महिनाको अवधिमा २८ जनाले मात्रै उक्त सेवा लिएको कार्यायले जनाएको छ । कार्यालय प्रमुख रामविनय कुमार सिंहले मेरो कित्ता कार्यक्रमबारे नागरिकलाई जानकारी नहुँदा र उनीहरुमा पनि चासो नहुँदा प्रभावहीन देखिएको बताउनुभयो । “कार्यक्रमबारे जिल्लाका नागरिकलाई बुझाउन जरुरी देखियो, यसका लागि कार्यालयले सचेतनामूलक कार्यक्रम गर्नुपर्ने छ”, उहाँले भन्नुभयो । उहाँका अनुसार केही सेवाग्राहीले टेलिफोनमार्फत जानकारी लिने गरेका छन् । “घरबाटै इन्टरनेटको प्रयोग गरेर आफ्नो जग्गाको कित्ताको नक्सा लिन सकिन्छ, यसले खर्च र समयको बचत पनि हुन्छ”, उहाँले भन्नुभयो । पाँचखाल नगरपालिका–३ का रामकृष्ण तिमल्सिनाले इन्टरनेटमार्फत आफ्नो जग्गाको नक्सा पाइनेबारे जानकारी नभएको बताउनुभयो । “कार्यक्रम लागू भएपछि सम्बन्धित निकायले जानकारी दिनुपर्ने, सेवाग्राहीले पनि कार्यालयबाट पाउने सुविधाबारे चासो दिनुपर्छ”, उहाँले भन्नुभयो । उहाँले खर्च र समयको बचत हुनुका साथै लाइन बस्नुपर्ने झन्झट नहुने भन्दै सेवाग्राहीलाई सेवा लिन आग्रह गर्नुभयो ।रासस