हिमालय शमशेर जबराको सबैले चिन्ने परिचय नेपाल राष्ट्र बैंकको प्रथम गभर्नर हो । तर यतिमा मात्रै उहाँको परिचय सीमित छैन । राणाले नेपालको पहिलो अर्थसचिव हुनुहुन्थ्यो भने कूटनीतिक क्षेत्रमा अन्तर्राष्ट्रिय रुपमा नै आफ्नो पहिचान बनाउनुभएको छ । जबराले नेपालको अर्थतन्त्र, समाज, कूटनीतिलगायतका क्षेत्रमा हिमाल जस्तै अग्लो कद बनाउनुभएको छ । मुलुकको अर्थतन्त्र र कूटनीतिक क्षेत्रमा पहिचान बनाउनुभएका राणाको ९५ वर्षको उमेरमा आज निधन भएको छ । निमोनियाबाट पीडित उहाँको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । पिता जर्नेल लक्ष्मण शमशेर जबरा र माता विजयालक्ष्मीको कोखबाट सन् १९२८ जनवरी १० मा जन्मनुभएका राणाले भारतको बम्बईस्थित स्कुल अफ इकोनोमिक्स एण्ड सोसिओेलोजीबाट अर्थशास्त्रमा स्नातकोत्तर तह पूरा गर्नुभएको थियो । सन् १९५० मा अर्थमन्त्रालयको सचिवका रुपमा काम सुरु गर्नुभएका जबरा सन् १९५१ मा नेपाल बैंकमा महानिर्देशक हुनुभयो । उहाँले सन् १९५६ मा नेपाल राष्ट्र बैंकको पहिलो गभर्नरका साथै सन् १९६२ देखि १९६४ सम्म संयुक्त राष्ट्रसङ्घको न्यूयोर्कस्थित कार्यालयमा प्रोग्राम अफिसर÷प्रोजेक्ट अफिसरका रुपमा काम गर्नुभयो ।रासस