विपन्न परिवारका युवालाई काठका विभिन्न सामान बनाउने सीप सिकाएर आत्मनिर्भर बनाउने उद्देश्यका साथ सालबारी सामुदायिक वन उपभोक्ता समूहले सिकर्मी तालिम सञ्चालनमा ल्याएको छ । मोरङको उर्लाबारी–२ मा रहेको सालबारी सामुदायिक वनले आफ्नो वन समूहमा रहेका विपन्न परिवारका १६ जनालाई सिकर्मी तालिम दिएको जनाएको छ । उक्त वनले १५ समूहका १६ जना विपन्न परिवारका युवायुवतीलाई तालिम दिन सुरु गरेको हो । गरिबी न्यूनीकरण कार्यक्रमअन्तर्गत तालिम सञ्चालन गरिएको वन समूहका अध्यक्ष नरेन्द्र थापा जर्मनले बताउनुभयो । तालिममा १२ पुरुष र चार महिला सहभागी रहनुभएको छ । एक महिनासम्म सञ्चालन हुने तालिममा काठका सामान बनाउने विभिन्न सीप सिकाइने अध्यक्ष थापाले बताउनुभयो । सीप सिकेर आत्मनिर्भर बन्न यो तालिमले सहयोग गर्ने थापाको बुझाइ छ । सालबारी सामुदायिक वन उपभोक्ता समूहले विपन्न परिवारलाई रु ६० हजार मूल्य बराबरको काठ निःशुल्क प्रदान गरेको छ । वन समूहको उपभोक्ता रहेकी अनिशा धिमाललाई छ सय फुट काठ प्रदान गरिएको हो । धिमाललाई उर्लाबारी–२ का वडाध्यक्ष राजन कँडेल, वनका अध्यक्ष जर्मन थापालगायत पदाधिकारीले काठ हस्तान्तरण गर्नुभएको हो । उक्त वन समूहले यसअघि २१ घर विपन्नलाई निःशुल्क काठ प्रदान गरेको थियो ।रासस
