संस्कृत शिक्षाप्रतिको आकर्षणसँगै संस्कृत शिक्षा अध्ययन गर्ने विद्यार्थी र विद्यालयको सङ्ख्या पनि पछिल्लो समय ह्वात्तै बढेको छ । प्राचीन कालदेखि नै रहँदै आएको संस्कृत विद्याको परम्परालाई निरन्तरतामात्र नभई आत्मनिर्भर जनशक्ति उत्पादन गर्ने उद्देश्यले पोखराका विभिन्न ठाउँमा विद्यालय तहमा मात्र नभई उच्च तहसम्म संस्कृत शिक्षाको पठनपाठन सुरु भएको छ । पोखरमा चिसाखोला वेदविद्याश्रम, विन्ध्यावासिनी संस्कृत विद्यापीठ, संस्कृत क्याम्पस, संस्कृत मावि, केदारेश्वर विद्याश्रम, ढुङ्गेसाँगुस्थित वात्स्यायन गुरुकूल विद्याश्रम, लेखनाथको डाँडाको नाकस्थित गुरुकूल विद्याश्रमलगायतका स्थानमा संस्कृत शिक्षाको अध्यापन गराइन्छ । संस्कृत विद्याले विविध क्षेत्रमा प्राप्त गर्दै आएका विशेष उपलब्धिलाई समयानुसार अध्ययन, अनुसन्धान, संरक्षण र सम्वर्द्धनका साथै संस्कृत भाषाभित्र सञ्चित रहँदै आएका मानवका लागि उपयोगी ज्ञान–विज्ञान हासिल गर्न यस्तो शिक्षा फलदायी हुने विश्वास गरिँदै आइएको छ । संस्कृत शिक्षाप्रतिको आकर्षण बढेसँगै पछिल्लो समय पोखराको लेकसाइडस्थित केदारेश्वर महादेवमणि सेवाश्रम समितिले श्रीकेदारेश्वर वैदिक गुरुकूल विद्याश्रम सञ्चालनमा ल्याएको छ । विसं २०७३ सालदेखि सञ्चालनमा आएको उक्त विद्याश्रममा ६९ जना विद्यार्थी अध्ययनरत छन् ।रासस